संस्कृति मन्त्री सुदन किराँतीलाई झड्का : अदालतले रोकिदियो पशुपतिमा लक्ष्मी पुनको नियुक्ति

संस्कृति मन्त्री सुदन किराँतीलाई झड्का : अदालतले रोकिदियो पशुपतिमा लक्ष्मी पुनको नियुक्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ माघ २०८०
  • 2.1K
    Shares

नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुन

पोखरा, ८ माघ २०८० /

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको आइतबार को संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

गएको पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।

आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ। पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको कारण तत्कालकाे लागि नियुक्ति राेकिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा पुस ४ गते बसेको परिषद् बैठकमा मन्त्री किराँती स्वयम्को प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।

नवनियुक्त पुन द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक हुन । साथै उनी प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन । पुन नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भएर काम गरिसकेकी छिन ।

स्थायी ठेगाना रुकुम पश्चिमको सानीभेरी गाउँपालिका रहेकी पुनले युद्ध पत्रकारिता समेत गरेकी छिन भने कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन ।

प्रतिक्रिया