पोखरा, ८ माघ २०८० /
लमजुङमा आइतबार साँझ भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। लमजुङको दोर्दी गाउँँपालिका ४ नौथर सेरा बाट कामचोक जाँदै गरेको गरेको ग१ज ७५६१ नम्बरको बोलेरो जिप कामचोक गाउँ नपुग्दै दोर्दीस्थित चौतारो मुनितिर आइतबार साँझ पौने ६ बजेतिर दुर्घटनाग्रस्त भएको हो।
उक्त जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका दोर्दी गाउँपालिका ४, बाँसबोट निवासी ५० वर्षिय पूर्णबहादुर तामाङको उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। सोही दुर्घटनामा परेर घाइते दोर्दी गाउँपालिका ४, कामचोक गाउँका ५३ वर्षिय गंगामाया गुरुङ र ४७ वर्षिय मुनी तामाङको लमजुङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए।
चपाईंका अनुसार जिप चालक कामचोकका २२ वर्षिय हिरालाल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उकालोमा ब्रेक फेल भएपछि जिप पछि हटेको र त्यसपछि जिप पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार जिपमा चालकसहित ६ जना रहेकोमा २ जनालाई कुनै चोट नलागेपछि घर गएका प्रहरीले बताएको छ ।