मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घरधनी आफैंले घर भत्काउन शुरु गरे

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घरधनी आफैंले घर भत्काउन शुरु गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ माघ २०८०
  • 8.2K
    Shares

पोखरा, ७ माघ २०८० /

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन शुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन शुरु गरेका हुन् ।

घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । इन्जिनियर पाण्डेका अनुसार, दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब छ करोड रुपियाँ खर्च हुनेछ । सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत वितरण सकिने जानकारी दिंदै उनले अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किइसक्ने अपेक्षा गरिएको बताए।

उनले डुम्रेबजार क्षेत्रबाट सडक विस्तार तीव्रगतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने जानकारी दिए। घरधनी स्वयंले घर भत्काउने भएकाले आयोजनाले उनीहरूलाई घर भत्काउन ताकेता गर्ने, समय– समयमा बैठक बस्ने र नगरपालिकाले पनि भत्काउनका लागि प्रोत्साहन गर्नेलगायतका काम भइरहेको उनको दाबी छ ।

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमीमा कालोपत्र सम्पन्न भएको हो । पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए ।

आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमीमा कालोपत्रको काम भएको । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्नका लागि बेस हाल्ने काम भइरहेको छ ।

पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनसँग रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो । एकचालीस दशमलव ४५ किलोमिटर दूरीको यो खण्डको काम आगामी वैशाखसम्म सक्नुपर्ने सम्झौता छ ।

त्यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको मुग्लिन–पोखरा सडक आयोजना ९पश्चिम खण्ड०का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको छ । पूर्वी खण्डको तुलनामा कम उक्त खण्डमा हालसम्म १४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया