पोखरा, ५ माघ २०८० /
लमजुङमा गएराती एउटा घरमा आगलागी हुँदा श्रीमतीको जलेर मृत्यु भएको छ भने श्रीमान भागेर बाँचेका छन्। मर्स्याङ्दी गाउँपालिका ४, स्याँगे निवासी राजेन्द्र श्रेष्ठको घर पसलमा आगलागी हुँदा उनकी ४४ वर्षिया श्रीमती सन्तमाया श्रेष्ठको मृत्यु भएको हो।
बेंसीशहर नगरपालिका २, गैरीडाँडा घर भइ करिब साँढे १ दशकदेखि स्याँगेमा बसेर किराना र कपडा पसल सञ्चालन गर्दै आएका राजेन्द्र श्रेष्ठ भने घरमा आगो लागेको थाहा पाए पछि माथिल्लो तलाबाट हाम फालेर भाग्न सफल भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। छोरा र छोरी भने काठमाडौं बसेर पढ्दै आएका छन् ।
फलामे पोल गाढेर पर्खाल लगाइ बाहिर सटर र टिनको छानो लगाएर बनाएको पसलमा आगलागी हुँदा घरसहित पसल पूर्ण रुपमा जलेको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट ग१६प ३९३८ को मोटरसाइकल पनि जलेको छ ।
मर्स्याङ्दी गाउँपालिका ४ का वडाअध्यक्ष बलबहादुर गुरुङले राती साँढे ११ बजेतिर आगलागी भएको अनुमान गरिएको र आफू १२ बजेतिर पुग्दा आगो ठूलोमात्रामा दन्किरहेको देखेको बताए।
नजिकै खोला रहे पनि पानीको अभाव भएको र पछि खानेपानीको पाइप काटेर विहानपख आगो नियन्त्रणमा लिइए पनि सवै जलेर नष्ट भइसकेको प्रहरीले बताएको छ ।
प्रहरी निरीक्षक चपाईंले आगलागीबाट ती महिलाको शव पुरै जलेको र निकाल्ने प्रयास भइरहेको जानकारी दिए। आगलागीको कारणबारे हालसम्म खुलेको छैन । घटनाबारे मुचुल्का उठाउने कार्य भइरहेकाले सवै विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको उप्रहरीले जनाएको छ।