पोखरा, २८ पुष २०८०/
पोखराको लखनचोक (पृथ्वीचोक) मा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्मानमा हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्वीर ठड्याइएको छ । ३०२ औं पृथ्वी जन्मजयन्तीको अवसरमा शुक्रबार राष्ट्र गौरव अभियानद्वारा पोखरामा पोखराको पृथ्वीचोकमा आयोजित कार्यक्रमका अवसरमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्मानमा हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्वीर ठड्याइएको हो ।
सोही अवसरमा राष्ट्र गौरव अभियानका संयोजक सिरोज विजय कोइरालाले पोखराको पृथ्वीचोकमा रहेको लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण गरेर राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरे । उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०/५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो सालिक कहीँ हुने छैन ।’
अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको शालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।