पोखरा, २८ पुष २०८०/
गएराती दाङको देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेर दुर्घटनाग्रस्त हुँदा १२ जनाको निधन भएको छ। बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा १२ जनाको निधन भएको हो। ती मध्ये दुई भारतीय नागरिकसिहत आठ जनाको सनाखत भएको छ । बाँकी चार जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।
मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ । १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंह दिए। बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी प्रमुख हरिभक्त रोकाया अनुसार घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन् । उनीहरु सामान्य घाइते छन् ।
यसैगरी काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, बाँके नेपालगञ्जका १८ वर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय नकुस खान, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मध्यम, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, बाँके नेपालगञ्जका २० वर्षीय अर्वाज नाउ, बाँके नेपालगञ्जका २५ वर्षीय मोमम्मद जावेज मध्यम घाइते भएका छन् ।
यसैगरी भारतका २० वर्षीया छोथी सिलौटा गम्भिर घाइते भएकी छन् । काठमाडौंकी राधा पाण्डे पनि गम्भिर घाइते भई थप उपचारका लागि बुटवल ल्याइएको छ । उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे भने सामान्य घाइते भएकी छन् ।
सामान्य घाइते हुनेहरुमा बाँके बैधापुरका २१ वर्षीय शंकर थारु, ३० वर्षीय भारतीय नागरिक रावलकुमार अहिर, कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, जुम्लाका १९ वर्षीइ विशाल बोहोरा र बाँकेका २० वर्षीय निरञ्जन कोरी रहेका छन् । यस्तै बाँके नेपालगञ्जका २४ वर्षीय आशुतोस गौतमले गाडीबाट हामफालेर ज्यान बचाउन सफल भएका थिए । उनी सामान्य घाइते छन् ।