‘तपस्वी’ रामबहादुर बम्जन पुर्पक्षमा रहने गरी कारागार चलान

‘तपस्वी’ रामबहादुर बम्जन पुर्पक्षमा रहने गरी कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ पुष २०८०
  • 7.3K
    Shares

सर्लाही जिल्ला अदालतमा राम बहादुर बम्जन

पोखरा, २७ पुष २०८०/

संसारभर ‘लिटिल बुद्ध’को पहिचान बनाएका तर अहिले विलाशी जीवन बिताई रहेका तपस्वी रामबहादुर बम्जन कारागार चलान भएका छन्। जिल्ला अदालत, सर्लाहीका न्यायाधीश विष्णु रेग्मीको इजलाशले आफ्नो अनुयायी रहेकी रौटहटकी एक किशोरीमाथि यौन हिंसा गरेको कसुरमा अनुसन्धान गर्न पुर्पक्षमा रहने गरी कारागार चलान गर्ने आदेश दिएकाकारण उनी कारागार चलान भएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको साथबाट प्रहरीले तीन करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।

प्रहरीका अनुसार बरामद दसीमा मोबाइलबाहेक ३ वटा मोटरसाइकलको बिलबुल रहेका छन् । यस्तै गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य मागजातहरु बरामद भएको सीआईबीले जनाएको छ ।

२०७१ श्रावणदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले यौन शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।

यसैगरी उनलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरिसकेकामा खोजतलासका क्रममा बुधबार पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक २९७५ साल भदौ ३० गते रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् । पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २०७३ साल साउन २० गते आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् ।

सीआईबीले बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया