पोखरा, २७ पुष २०८०/
विभिन्न १२ जना महिला तथा वालवालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहना चोरी गरेको कसूरमा नौ महिना झ्यालखानामा बसेर छुटेकी पर्वतकि युवती फेरी एक स्कुले बालिकाको सुनको गरगहना चोरी गरेर भाग्दै गर्दा प्रहरीले फेरी पक्राउ गरेको छ।
पोखरामा बृद्ध महिला तथा बालबालिकाका सुनका गरगहना तथा धनमाल शृंखलाबद्ध रुपमा चोरी गरेको कसुरमा नौ महिना जेल जीवन बसेर निस्किएकी पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर
भई हाल पोखरा ४ गणेश टोल बस्ने वर्ष ३४ की टीका श्रेष्ठलाई प्रहरीले फेरी एक स्कुले बालिकाको कानका मुन्द्रा चोरी गर्दा गर्दै पक्राउ गरेको हो।
अभियुक्त श्रेष्ठले गएको पुष २० गते दिउँसो साढे दुई बजेको समयमा पोखरा १२ स्थित शितलादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई ललाई फकाई गरेर कानका दुई वटा कानका मुन्द्रा लिए पछि घरमा रहेको भुद्की फोडेर दुई हजार दुई सय ४० रुपियाँ लुटेर भाग्दै गर्दा पक्राउ गरिएको प्रहरीको दाबी छ।
दोश्रो चोटी पक्राउ परेकी श्रेष्ठबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अभियुक्त श्रेष्ठ यसभन्दा अघि पनि पोखराका विभिन्न १२ जना महिला तथा वालवालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहना चोरी गरेको कसूरमा पक्राउ परि चोरी सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतको फैसलाले ९ महिना कैद र २८ हजार जरिवाना फैसला भई उक्त कैद भुक्तान गरी जरिवाना तिरेर छुटेकी बताइएको छ ।