पोखरा, २७ पुष २०८०/
मित्र मिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उक्त सहकारीको लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको छ । आर्वा विजय मावि पोखरा–१३, ढाँडबेसीका शिक्षक समेत रहेका ५७ वर्षीय अधिकारीलाई पोखरा महानगरपालिका वडा नम्बर १३ कसेरीस्थित बौरीमा रहेको घरबाटै बुधबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको एवम् ठगी गरेको आरोप लागेका अधिकारीलाई प्रहरीले बिहिबार जिल्ला अदालतमा पेश गरेकोमा थुन छेक बहस नसकिए पछि अदालतले प्रहरी हिरासतमा पठाएको प्रहरीले जनाएको छ।
मित्र मिलन सहकारी ठगी प्रकरणमा प्रहरीले सहकारीका सञ्चालक समितिका पदाधिकारीसहित ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।यस अघि सहकारीको रकम हिनामिना गरेको अभियोगमा ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । यसअघि पुस २२ गते सहकारी ठगी अभियोगमा स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेल र पोखरा–२३, खोरापाखाका २८ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालत कास्कीले दिएको थियो ।
बैकिङ कसुरमा कास्की कारगारमा नै रहेका उनिहरुलाई अदालतका न्यायधीश महेन्द्रबहादुर थापाको इजलासले गत आइतबार थुनामा राख्ने आदेश दिएको थियो ।
यसअघि न्यायाधीश ऋषिराम आचार्यको इजलासले पूर्वरजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । जसमा सञ्चालक समितिका सदस्य गोपाल खनाल, सहकारीका सल्लाहकार एवं शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल रहेका थिए ।
सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये हालसम्म ७ जना पक्राउ परेका छन् । सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ । यतिबेला जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
।