नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुने

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ पुष २०८०
  • 4.7K
    Shares

नारायणगढ मुग्लिन सडकको तुइन खोलामा पहाड काट्ने कार्य जारी

पोखरा, २७ पुष २०८०/

नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता दैनिक चार घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन फाउण्डेसन बनाउन पहाड काट्ने कार्य नसकिएकाकारण उक्त सडकखण्ड पुष २८ गतेदेखि २० गतेसम्म तीन हप्ता दैनिक चार घण्टा बन्द हुने भएको हो।

तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पुस २७ गतेदेखि माघ २० गते सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

गत वर्ष पनि सो खण्डमा पुलका लागि भन्दै पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।

तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर यसपटक चट्टान काट्न थालिएको थियो । आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी आचार्यका अनुसार रक स्प्लीटर, हाइडो«लिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएको छ ।

गत बर्षको भन्दा यसपटक प्रगति पनि अपेक्षाकृत नै रहेको उनले बताए । यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो । गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाँउबाट चट्टान काट्ने प्रयास गरिएको थियो ।

गत बर्ष झण्डै ३० प्रतिशत मात्रै भित्तो काट्न सकिएको थियो । तुइन खोलाको नारायणगढतर्फको भाग भने अधिकांश काटिसकिएको छ । पछिल्लो तीन हप्तामा सडक बन्द गरेर ३५ मिटर अग्लो पहाडलाई १५ मिटर काटेर २० मिटरमा झारिएको आयोजनाले जनाएको छ । बाँकी २० मिटर थपिएको ३ हप्ता भित्र काट्ने योजना छ ।

जमिनको सतह नजिकै ल्याएपछि सवारी नरोकिकन पनि काम गर्न सकिने आयोजनाले जनाएको छ । दैनिक ४ घण्टा भनेपछि ३ घण्टाभन्दा बढी समय ठेकेदार कम्पनीले काम गर्न नपाएको आयोजनाले दावी छ ।

यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुलमध्ये यहीँ तुइन खोलाको पुलको काम मुख्य रुपमा बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आएका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।

माघ १ गते सडक बन्द नहुने

दैनिक ४ घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड माघ १ गते भने दिनभर नै खुला रहने आयोजनाले जनाएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले सूचना निकालेर जनाएको छ । सो दिन निर्वाध रुपमा नारायणगढतर्फ आउन र जान सकिने आयोजनाको भनाइ छ ।

प्रतिक्रिया