नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ। प्रहरीको नियन्त्रणमा पर्नेमा देवदह नगरपालिका-७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका-३ निवासी २९ वर्षीया प्राभी बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तिहार तथा भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका-१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको चन्दले बताए।
उनीहरूले नेपाली मौलिक कला, संस्कृति, सामाजिक सद्भाव तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत तिहार तथा भैलो कार्यक्रमका नाममा मौलिक कला, संस्कृति र सामाजिक सद्भावविपरीत स्वेच्छाचारी तथा अमर्यादित तरिकाले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ।
यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै प्रहरीले सांस्कृतिक पर्वको मर्यादा कायम राख्न सबैमा अनुरोध गरेको छ।