पोखरामा गएराती जिप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

पोखरामा गएराती जिप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०८३
  • 1.3K
    Shares

पोखरा, २६ कार्तिक २०८३ ।

पोखरा महानगरपालिका-२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति करिब पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी पोखरास्थित जीएमसी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा एक जनाको ज्यान गएको हो।

कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका-२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङ रहेका छन्। उनलाई आज बिहान पौने ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार रहेका छन् ।

त्यसैगरी १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका छन् ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घाइतेहरु

घाईतेहरुको नामावलि निम्न रहेको छ ।

१. पोखरा महानगरपालिका–२३ घाटीछिना बस्ने १५ वर्षीय विवेक वि.क.। दायाँ आँखा र टाउकोमा चोट, अवस्था मध्यम।

२. पोखरा महानगरपालिका–२३ चैनपुर बस्ने १६ वर्षीय विवस पराजुली। बायाँ टाउको र दुवै खुट्टामा चोट, अवस्था मध्यम।

३. पोखरा महानगरपालिका–२३ कार्कीको तगरा बस्ने १४ वर्षीय अमित सुनार। बायाँ हात र टाउकोमा चोट, अवस्था मध्यम।

४. सोही स्थान बस्ने १८ वर्षीया अनिशा नेपाली। दायाँ हात, बायाँ खुट्टा र छातीमा चोट, अवस्था मध्यम।

५. सोही स्थान बस्ने १२ वर्षीय उज्ज्वल सुनार। बायाँ आँखामाथि चोट, अवस्था सामान्य।

६. सोही स्थान बस्ने ११ वर्षीय निशान नेपाली।टाउको र छाती दुखेको, बाहिरी चोटपटक नभएको, अवस्था मध्यम।

७. सोही स्थान बस्ने १४ वर्षीय सन्देश नेपाली। निधारमा चोट र छाती दुखेको, अवस्था सामान्य।

८. सोही स्थान बस्ने २० वर्षीया मुस्कान गुरुङ। टाउको दुखेको, बाहिरी चोटपटक नभएको, अवस्था सामान्य।

९. सोही स्थान बस्ने १२ वर्षीय आसिस सुनार। भित्री चोट लागेको, अवस्था सामान्य।

१०. सोही स्थान बस्ने १३ वर्षीय सन्जल सुनार। छातीमा चोट, अवस्था मध्यम।

११. सोही स्थान बस्ने १९ वर्षीया निसा नेपाली। ढाडमा चोट, अवस्था मध्यम।

१२. सोही स्थान बस्ने २० वर्षीय दिपिन खत्री। छातीमा सामान्य चोट लागेको।

प्रतिक्रिया
सम्बन्धित समाचार