पोखरा, २६ कार्तिक २०८३ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौं बाट सर्लाहीका लागि आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा तीन महिला, पाँच पुरुष र दुई बालिकासहित १० जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका तीन जनालाई बिहान करिब ७ः४० बजे हेटौंडा अस्पताल पुर्याएर उपचार भइरहेको छ। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्।
घाइते मुकेशको टाउको र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सक्षमको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको छ भने सुदनको टाउको तथा मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार थिए। दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमाण्डमा सात जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो।
उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस भीमफेदीका १० जना, नेपाली सेनाका ११ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरका १० जना तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङका १० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्दछ।
दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले घटनास्थलमा उद्धार कार्य सम्पन्न गर्दै मृतकको पहिचान तथा दुर्घटनाबारे थप अनुसन्धान र विवरण संकलन गरिरहेको जनाएको छ।