धुलिखेलस्थित रिसोर्टमा रवि–स्वर्णिमको गोप्य भेट, प्रधानमन्त्री शाहसँग बढ्दो असन्तुष्टिबीच राजनीतिक तरंग

धुलिखेलस्थित रिसोर्टमा रवि–स्वर्णिमको गोप्य भेट, प्रधानमन्त्री शाहसँग बढ्दो असन्तुष्टिबीच राजनीतिक तरंग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ साउन २०८३
  • 494
    Shares

rabi lamichhane with swarnim wagle in resort

काठमाडौं ३ साउन २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले शनिबार अपराह्न काभ्रेको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्ट पुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग अर्थमन्त्री वाग्लेको सम्बन्ध चिसिँदै गएको चर्चा भइरहेका बेला उनीहरूको उक्त भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

स्रोतका अनुसार अर्थमन्त्री वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका थिए। त्यसको करिब २० मिनेटपछि सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित त्यहाँ पुगेका बताइएको छ । उनीहरूबीच भएको छलफलको विषय सार्वजनिक गरिएको छैन। रास्वपा वा अर्थ मन्त्रालयले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

सरकार गठनका बेला अर्थमन्त्री चयनदेखि नै प्रधानमन्त्री शाह र वाग्लेबीच दृष्टिकोणगत असहमति देखिँदै आएको बताइन्छ। पछिल्ला केही सातायता दुवैबीच दूरी अझ बढेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि सभापति लामिछानेसमक्ष पनि व्यक्त गरेका थिए। फोटो एआई

यसैबीच, प्रधानमन्त्री शाहले हालै उद्योगी, व्यवसायी तथा निर्माण व्यवसायीहरूसँग गरेका विभिन्न छलफल र बैठकहरूमा अर्थमन्त्री वाग्लेलाई सहभागी नगराएको विषयले पनि सरकारभित्रको सम्बन्धबारे थप अड्कलबाजी बढाएको छ। सामान्यतया आर्थिक नीति, बजेट कार्यान्वयन र निजी क्षेत्रसँग सम्बन्धित छलफलमा अर्थमन्त्रीको उपस्थिति अपेक्षित हुने भए पनि ती बैठकमा उनको अनुपस्थिति अर्थपूर्ण रूपमा हेरिएको छ।

धुलिखेलमा भएको रवि लामिछाने र स्वर्णिम वाग्लेको भेट पनि यही राजनीतिक पृष्ठभूमिमा भएकाले यसलाई आगामी रणनीति, सरकारभित्रको समन्वय तथा रास्वपाको भावी राजनीतिक कदमसँग जोडेर विश्लेषण गर्न थालिएको छ। यद्यपि भेटको वास्तविक उद्देश्यबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

यस विषयमा प्रधानमन्त्रीको सचिवालय, रास्वपा वा अर्थ मन्त्रालयबाट औपचारिक धारणा आएपछि घटनाको थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया