पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बालबालिकाहरूलाई ललाई फकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल पोखरा वडा नम्बर १० रामबजार बस्ने २५ वर्षीया अम्बिका पुलामी मगर रहेकी छिन् ।
उनले गत वैशाख ६ गते साँझ पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा रामचोकमा अन्दाजी ६ वर्षीया एक बालिकाको मुद्रा चोरी गरेकी थिइन् । अपरिचित अम्बिकाले तिम्रो ममीको साथी हुँ भनी फकाउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनले बालिकालाई जुस र आइसक्रिम खुवाउने प्रलोभन देखाएर एकान्तमा पु¥याएर कानमा लगाएको करिब १ लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा (१४÷१४ लाल) लुटेर फरार भएकी थिइन् ।
बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले घटना स्थल वरपरको फुटेज अध्ययन गरेको थियो । फुटेजमा पहेँलो रङको रेनकोट लगाएकी महिलाले ग २५ प ३५८४ नम्बरको स्कुटरमा बालिकालाई लिएर गएको देखिएको थियो । अनुसन्धानका क्रममा उक्त स्कुटर भाडामा लिइएको खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो । अन्ततः वैशाख १७ गते पोखरा वडा नम्बर ९ महेन्द्रपुलबाट अम्बिकालाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।
Advertisement
१८ वटा मुद्दाकी पटके अपराधी
Advertisement
प्रहरीको चेक गर्दा पक्राउ परेकी अम्बिका पुलामी मगर पुराना पटके अपराधी भएको खुलेको छ । उनी विरुद्ध यसअघि नै कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी १८ वटा फरक फरक मुद्दामा कैद र जरिवानाको फैसला भइसकेको देखिएको डिएसपी बस्नेतले जानकारी दिए । ०७९ असार ८ गते १० वटा मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना । २०७९ असार २२ गते अन्य ८ वटा मुद्दामा ६ महिनादेखि १ वर्ष ६ महिनासम्मको कैद सजाय भएको अदालतको अभिलेखमा देखिएको छ ।
हाल उनलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको डिएसपी बस्नेतले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।