पोखरा,२१ फागुन २०८२।
लमजुङमा मध्य रातमा बाँडियो मुठाका मुठा पैसा
मौन अवधिमा रकम र पर्चा वितरणको आरोप, स्कुटरसहित सामग्री बरामद
लमजुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राइनास नगरपालिकामा केही व्यक्तिहरू रकम र पर्चा बाँड्दै हिँडेको अवस्थामा फेला परेका छन्।
राइनास नगरपालिका क्षेत्रमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूले मतदाता प्रभावित पार्ने उद्देश्यले रकम तथा नमुना पर्चा वितरण गरिरहेको सूचना पाएपछि स्थानीयले निगरानी बढाएका थिए।
स्थानीयका अनुसार नेकपा एमालेका कार्यकर्ता ध्रुव अकेला तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सिताराम पाण्डे र गोपाल नेपाली रकम र पर्चा बाँड्ने क्रममा फेला परेका हुन्। घटनास्थलबाट ग १२ प ३३४८ नम्बरको स्कुटर, केही नगद रकम र नमुना पर्चा बरामद गरिएको जनाइएको छ । उनीहरू भने सो स्थानबाट फरार भएका बताइएको छ ।
बरामद गरिएको रकम, पर्चा तथा स्कुटर प्रहरीलाई जिम्मा लगाइएको तरुण दल राइनास नगरपालिका अध्यक्ष गणेश गुरुङले जानकारी दिएका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि प्रकारका प्रचार–प्रसार तथा मतदाता प्रभावित पार्ने गतिविधि गर्न नपाइने व्यवस्था छ।