पोखरा ११ पुष २०८०/
नेपाली कांग्रेस गण्डकी प्रदेशले संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधन गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । पार्टी विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेख्नुपर्ने आग्रह गरेको छ ।
कांग्रेसको गण्डकी प्रदेश सम्मेलनले एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
पुस ३ र ४ गते प्रदेश राजधानी पोखरामा भएको सम्मेलनमा प्रदेशका ११ जिल्लाका कांग्रेस नेता कार्यकर्ता सहभागी थिए । सम्मेलनले पार्टीको विधान र संविधानमा संशोधन गरेर एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । सो निर्णय अब कांग्रेसको आगामी महासमिति बैठकमा प्रस्तावका रूपमा पेस हुनेछ ।
गण्डकी सम्मेलनले पार्टीका केन्द्रीय सदस्यहरू समेत हरेक महाधिवेशनमा वडा तहबाटै प्रतिस्पर्धा गरेर आएपछि मात्रै महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । हाल कांग्रेसमा केन्द्रीय कार्यसमितिका सदस्यहरूले स्वतः महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ । गण्डकी सम्मेलनले विधानको त्यस्तो व्यवस्था खारेज गर्दै हरेक महाधिवेशनमा केन्द्रीय सदस्यहरू पनि वडादेखि नै निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने व्यवस्था गर्न निर्णय गरेको हो ।
सम्मेलनपछि प्रदेश कार्यसमितिले जारी गरेको घोषणापत्रमा सम्मेलनले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको उल्लेख छ । प्रदेश सभापति शुक्रराज शर्माले सम्मेलनमा व्यक्तिभन्दा पनि विधि र व्यवस्थाप्रति संवेदनशील भएर सम्मेलनमा छलफल भएको बताए । ‘एकै व्यक्तिले पटक–पटक अवसर पाउनुहुन्न । जतिसुकै सक्षम भए पनि एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्नुहुन्न भनेर छलफल भयो, सम्मेलनले सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने ।
सम्मेलनले पहिले पार्टीको विधानमा र त्यसपछि संविधानमा यस्तो व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । प्रदेश सभापति शर्मा पार्टीमा नेता शेखर कोइरालानिकट हुन् । पार्टीमा महामन्त्री गगनकुमार थापासहित शीर्ष नेताहरूले सार्वजनिक रूपमै सभापति देउवालाई अब फेरि प्रधानमन्त्री हुनबाट रोक्नुपर्ने बताउँदै आएका छन् ।