नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी (हेर्नुस सेटिङ्ग कसरी हुँदो रहेछ)

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी (हेर्नुस सेटिङ्ग कसरी हुँदो रहेछ)

तस्करको सुन लुकाउन अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग : एउटा चाबी तस्करसंग र अर्को कर्मचारीसंग


  • जनसञ्चार डेस्क
  • मंगलबार, ३ पुष २०८०
  • 4.3K
    Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरण

पोखरा, ३ पुष २०८० /

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतो देखिएको छ। तस्करहरुले ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्र राखिएको दराजमा भेटिए पछि सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतो देखिएको हो । अनुसन्धानका क्रममा उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको समाचार स्रोतले जानकारी दिएको छ।

उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पुर्‍याउने गरेको समेत खुलेको छ ।

गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि भन्सार विभागले गरेको अनुसन्धान र छानबिनमा व्यावसायिक व्यक्तिका लागि छुट्याइएको सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको भन्सार विभागले जनाएको छ । भरियाले दुबईबाट ल्याएको अवैध सुन जहाजबाट ओर्लनेबित्तिकै सिधै शौचालय गएर उक्त दराजमा राखिदिए पछि विमानस्थलबाट बाहिरिने गरेको अनुसंधान्संग सम्बन्धित समाचार स्रोतहरुले जानकारी दिएका छन्। दुबईबाट सुन बोकेर आउने भरिया बिमानस्थलबाट बाहिरिए पछि त्यो सुनलाई उपयुक्त समयमा क्यानका कर्मचारीले विमानस्थलको आपत्कालीन ढोका, छत, शव निकाल्ने ढोका हुँदै चोरबाटोबाट बाहिर निकालेर फेरि अर्को भरियाको जिम्मा लगाउने गरेको बताइएको छ।

सुन ल्याउन अह्राउने, ल्याउने र विमानस्थलबाट बाहिर निकाल्ने काममा सहभागी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । दराजमा राखिएको सुन निकाल्न प्राधिकरणका ४ कर्मचारीको प्रत्यक्ष र ३ जनाको अप्रत्यक्ष रूपमा संलग्नता रहेको पाइएको छ । ‘उनीहरूले ल्याएको सुन दराजमा राखे/नराखेको यकिन गर्न शेरबहादुर बस्नेतले रेक्की गर्दा रहेछन् । सुन राखेको पक्कापक्की भएको खबर लेकबहादुर तामाङसम्म पुग्दो रहेछ । त्यहाँको दराजको अर्को चाबी लेकबहादुरसँग हुँदोरहेछ,’ अनुसन्धानमा खटिएका भन्सारका एक कर्मचारीले भने ।

‘लेकबहादुरले आफ्नो ड्युटीका बेला सुन निकालेर भीआईपी कक्षको बाहिरपट्टिबाट प्राधिकरणको प्रशासनिक कार्यालय नजिकको अर्को शौचालयसम्म पुर्‍याउने रहेछन्,’ उनले भने । शेरबहादुर उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर कार्यालय सहयोगी हुन् । ‘शौचालयको भित्तामा राखिएको दराजको चाबी हराएपछि दुईवटा नक्कली चाबी बनाइएको रहेछ,’ भन्सार स्रोतले भन्यो ।

त्यही चाबीमध्ये एउटा मीनबहादुर घलेले सुन बोक्न चन्द्र घले वा कृष्णकुमार श्रेष्ठमध्ये जसलाई पठाइन्छ, उसैलाई दिने र अर्को लेकबहादुरले आफैं राख्ने गरेका थिए ।

‘लेकबहादुरले अर्को शौचालयमा पुर्‍याएको सुन लिन प्राधिकरणका अधिकृत राधाकृष्ण श्रेष्ठ पुग्छन् । उनी सुन बोकेर त्यही छेउको आपत्कालीन ढोका हुँदै विमानस्थल भवनको छतमा निस्किन्छन् । त्यहाँ सिसिटिभिले कभर नगर्ने अनि भन्सार कर्मचारी तथा प्रहरीको ड्युटी र पहुँच पनि हुँदैन । छतमा बिजुली मर्मतसम्भार गर्न जान सानो हिँड्न मिल्ने ठाउँ छ,’ ती कर्मचारीले भने, ‘त्यहाँबाट शव निकाल्ने ढोकाको छेउमा पुगिन्छ । सँगै रहेको अर्को आपत्कालीन ढोकाबाट सुन विमानस्थलको फोहोर संकलन स्थलमा पुग्छ ।’ उक्त आपत्कालीन ढोकाको चाबी राधाकृष्णले मात्र बोक्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सरसफाइअन्तर्गतका सिनो व्यवस्थापन गर्ने कर्मचारी रमेश देउलाले फोहोर संकलन स्थलमा पुर्‍याइएको सुन अर्का भरिया डीबी भनिने धनबहादुर गुरुङलाई जिम्मा लगाउने गरेको पाइएको छ । लमजुङका धनबहादुर भने फरार छन् । भन्सारले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइकर्मी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोतले जनायो ।

सुन तस्करीबारे छानबिन गर्न विभागले निर्देशक मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । विभागका महानिर्देशक शोभाकान्त पौडेलले सकभर धेरै प्रमाण जुटाउने काम भइरहेको बताए । ‘गहिराइसम्म पुगेर तस्करीको जरासमेत पत्ता लगाउने प्रयासमा छौं, अनुसन्धान जारी छ,’ पौडेलले भने । मंसिर २१ गते गोरखाका चन्द्र घलेले ज्याकेटभित्रको कपडामा लुकाएर ल्याएको १४ किलो सुन भेटिएको थियो । सुन ल्याउन उनलाई गोरखाकै मीनबहादुर घलेले दुबई पठाएका थिए ।

अनुसन्धानका क्रममा चन्द्रलाई मीनले प्लेन टिकट, भिसा र दराजको चाबीसमेत दिएर दुबई पठाएको पाइएको छानबिन समितिका एक सदस्यले बताए । ‘दुबईमा भारतीय नागरिक अंकित अग्रवाल र गुरु भनिने एक व्यक्तिसँग मीनबहादुरको सम्पर्क रहेको देखिन्छ,’ उनले भने, ‘चन्द्रले अग्रवाल वा गुरुलाई भेटेर सुन ल्याउने गरेका थिए ।’ यसअघि पनि दुबईबाट आएपछि चन्द्र सुन लुकाउन शौचालय छिरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

मीनबहादुरमाथिको अनुसन्धान क्रममा स्याङ्जाका कृष्णकुमार श्रेष्ठले पनि अवैध सुन ल्याउने गरेको भेटिएको हो । उनलाई पनि मीनबहादुरले टिकट र भिसासहित दराजको चाबी दिएर दुबई पठाउने गरेको ती सदस्यले बताए । ‘कृष्णकुमारलाई पक्राउ गरेर सोधपुछ गर्दा यसअघि पनि दुबईबाट १४ किलोको दरले ७ पटक सुन ल्याएको स्वीकार गरेका छन्,’ उनले भने, ‘चन्द्रले राखेको शौचालयको दराजमा उनले पनि सुन राख्ने र चाबी लगाएर हिँड्ने गरेको पाइएको हो ।’ एक वर्षयता चन्द्र ५ पटक र कृष्णबहादुर १३ पटक दुबई आउजाउ गरेको स्रोतले जनायो ।

धनबहादुर, रमेश र लेकबहादुरले २०७५ सम्म काठमाडौंको गोंगबु क्षेत्रमा मिलेर होटल सञ्चालन गरेको र त्यही सम्बन्धका आधारमा तस्करीमा संलग्न भएको हुन सक्ने भन्सार अधिकारीको आशंका छ । उक्त समूहले लामो समयदेखि विमानस्थलको उक्त चोरबाटो हुँदै १० वर्षदेखि सुन तस्करी गर्दै आएको हुन सक्ने ती अधिकारीको अनुमान छ । एक पटक सुन ल्याउँदा तस्करले प्राधिकरणका कर्मचारीलाई १ लाख १५ हजार रुपैयाँ दिने गरेको समेत छानबिनमा खुलेको छ । त्यो रकममध्ये लेकबहादुर र राधाकृष्णले ४०/४० हजार, शेरबहादुरले १० हजार र रमेशले २५ हजार बाँडीचुँडी लिने गरेको बयानका क्रममा भनेको स्रोतले जनायो ।

चन्द्रले भने एक पटक दुबई गएर सुन ल्याउँदा ६० हजार र कृष्णकुमारले ९० हजारदेखि १ लाखसम्म पाउने गरेको स्वीकार गरेका छन् । छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारिसकेको छ । अन्तिम प्रतिवेदन आएपछि मुद्दा दर्ता आरोपितहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक पौडेलले बताए । कान्तिपुर दैनिकबाट साभार

प्रतिक्रिया