स्थानीय जनताको शान्तिपूर्ण बिरोधका बाबजुद पोखरा महानगरपालिकाले पोखरा ३२ लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न शुरु गरेको छ। ठुलो मात्रामा प्रहरी परिचालन गरेर पोखरा महानगरपालिकाले अस्थायी ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न शुरु गरेको हो ।
भारी वर्षातका बीच स्थानीय बासिन्दाले शान्तिपूर्ण रुपमा बिरोध गरिरहेका छन् भने ब्यापक मात्रामा प्रहरी परिचान गरेर महानगरपालिकाका ३२ वटा सवारी साधनले अस्थायी ल्यान्डफिल्ड साइटमा फोहोर फालेका छन्।
विगत ११ दिनदेखि स्थानीयले अवरोध गरेपछि फोहोर ल्यान्डफिल्ड साइट पुग्न सकेको थिएन् । उच्च अदालत पोखराले अन्तिम फैसला नभएसम्म लामेआहालमा नै फोहोर फाल्ने कार्यमा अवरोध नगर्न सम्बन्धित पक्षलाई सोमबार परमादेश जारी गरेको थियो। उच्च अदालतको परमादेशसंगै पोखरा महानगरपालिकाकाका फोहोर बोक्ने ३२ वटा गाडीहरु अस्थाई ल्यान्डफिल्ड साइटमा गएका थिए।
यस अघि फोहोर व्यवस्थापन गर्दा लापरवाही गरिएको, दुर्गन्ध फैलिएको तथा पूर्वाधार निर्माणमा महानगरले ध्यान नदिएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
स्थानीय जनताको मागलाई सम्बोधन गर्न महानगरपालिकाले १६ बुँदै प्रतिबद्धता गरेको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार १६ बुँदै प्रतिबद्धता अक्षरस पालना गर्न महानगर कटिवद्ध रहेको छ । १६ बुँदमा स्थानीयले उठाएका मागहरुलाई समेटिएको उनको भनाइ छ । तर, स्थानीयले भने महानगरले आफूहरुसँग कुनै सहमति नगरी प्रशासनको आडमा फोहोर विसर्जन गरेको बताएका छन् ।
संघर्ष समितिका सचिव भुवानीप्रसाद पौडेलले स्थानीयलाई पाखा लगाएर प्रशासनको आडमा महानगरले फोहोर व्यवस्थापन गरेकाले त्यसको प्रतिकारमा उत्रने चेतावनी दिए । ‘कति दिन बल प्रयोग गरेर महानगरले फोहोर व्यवस्थापन गर्छ?’उनले प्रश्न गर्दै भने,‘ हाम्रो माग नै दुर्गन्ध नआउने गरी उचित रुपमा फोहोर व्यवस्थापन गर्नुपर्दछ भन्ने हो । ’
स्थानीयमध्ये केहीले फोहोर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेकोमा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो समेत खुला भएको थियो । पोखरा महानगरपालिकाले पोखरा ३३ मा स्थायी ल्यान्डफिल साइड बनाउने निर्णय गरेपनि त्यसको कामले मुर्त रुप पाएको छैन ।
गत पुस १७ गतेदेखि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ मा रहेको ल्यान्डफिल साइडमा विसर्जनहुँदै आएको फोहोर आमेआहालमा व्यवस्थापन गर्न थालिएको हो । ६ महिनाको लागि अस्थायी रुपमा फोहोर विसर्जन गर्ने भनिएको र छ महिना बितेकाले फोहोर फाल्न नदिने अडान स्थानीयले लिएका थिए ।




