पोखरा महानगरपालिकाले आफू मातहत रहेको स्वास्थ्य महाशाखा प्रमुख कृष्ण अर्याल लगायत ४४ जना कर्मचारीलाई मंगलबारदेखि हाजिर गर्न रोक लगाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार स्वास्थ्यका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेको पोखरा महागरपालिकाले आफ्नो दरबन्दीमा नगएको भन्दै स्वास्थ्य महाशाखाका ४४ जना कर्मचारीलाई हाजिर गर्न रोक्का लगाएको हो।
आफ्नो दरबन्दीमा फिर्ता जान भन्दै पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखालाई असार २८ गते पत्राचार गरेकोमा कर्मचारीले अटेरी गरेपछि महानगरले ती कर्मचारीहरूको हाजिर रोक्का गर्न महाशाखालाई पुन: पत्र पठाएको छ । काजमा काम गरिरहेका र समायोजन भएर पनि सम्बन्धित स्थानीय तहमा नगएका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालसहित स्वास्थ्यका ४४ जना कर्मचारीलाई पोखरा महानगरपालिकाले मंगलबारदेखि हाजिर गर्न रोक लगाएको बताइएको छ ।
कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगरबाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमै रहेका कर्मचारीहरूलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको पोखरा महानगरपालिकाले जनाएको छ।
स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालका अनुसार, पोखरा महानगरको स्वास्थ्य महाशाखामा तीन सय ३४ कर्मचारी कार्यरत रहेकोमा महाशाखाबाट बिदाई हुनेमा ५७ जना कर्मचारी छन् । जसमा ३७ जना कामकाज गर्न आएको, ११ जना पदस्थापन भएर पनि नगएका र ९ जना दरबन्दीभन्दा बढी तर काममा बसेका स्वास्थ्यका कर्मचारी छन् । तर, महानगरले भने ४४ जना स्वास्थ्यका कर्मचारी काज फिर्ता हुनुपर्ने बताएको छ । जसमा महानगरपालिकाले काजमा आएका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालसहित ३४ र समायोजन भएर रमाना लिनुपर्ने ७ जना कर्मचारीलाई काम नगराउन महानगरपालिका प्रशासन शाखाले महाशाखालाई पत्र पठाएको हो ।