अर्बौं ठगेर ‘फरार’ सुधीर बस्नेत मध्यरातमा धापासीबाट पक्राउ

अर्बौं ठगेर ‘फरार’ सुधीर बस्नेत मध्यरातमा धापासीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 25.8K
    Shares

सर्वसाधरणको करिब आठ अर्ब रुपैयाँ ठगेर फरार रहेका घरजग्गा कारोबारी सुधीर बस्नेत पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन ईकाई, काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले उनलाई धापासीस्थित घरबाट पक्राउ गरेको हो । घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपैयाँ र सयौं सर्वसाधरण निक्षेपकर्ताको अर्बौं रुपैयाँ नतिरी फरार रहेको अभियोग उनीमाथि छ ।

काठमाडौं जिल्ला अदालतको दुई र भक्तपुर जिल्ला अदालतको एक मुद्दाको फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए ।

उनका अनुसार, ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई बर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई बर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।

उनीमाथि ओरियन्टल सहकारी मार्फत सर्वसाधरणको आठ अर्ब भन्दा धेरै निक्षेप अपचलन, बैंकहरुको ऋण कारोबारमा जोडिएका करिब ८ हजार जनालाई ठगी गरेको आरोप छ । आयुषा डेभलपर्स, ओरियन्टल विल्र्डस र कोहिनुर हाउजिङमार्फत पनि उनले सर्वसाधरणलाई ठगी गरेका थिए ।

बस्नेतले घर वा अर्पाटमेन्ट बनाउन सर्वसाधरणसँग करोडौ रुपैयाँ उठाउँथे र सोही घरजग्गा बैंकमा धितो राखेर रकम निकाल्थे । मैतीदेवीमा केन्द्रीय कार्यालय रहेको सहकारीको शाखा भक्तपुरदेखि पाटन, साँखु हुँदै जनकपुरसम्म विस्तार भएको थियो । जसबाट ४ अर्बभन्दा बढी निक्षेप संकलन भएको थियो ।

२०७० माघ ७ मा सरकारले सहकारीमार्फत निक्षेपकर्ताको रकम जोखिममा परेपछि विशेष अदालतका पूर्वन्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न जाँचबुझ आयोग गठन गरिएको थियो । ‘बस्नेतले ककसको पैसा डुबाएका छन् भन्ने यकिन जानकारी स्पष्ट छैन,’ आयोगका संयोजक कार्कीले भने, ‘प्रहरी र सेनाका उपल्ला अधिकारी, पूर्व सचिव र राजनीतिज्ञको पैसा उनले डुबाएका थिए । पहुँचवालाले आफ्नो पैसा अनेक गरेर धेरथोर असुले तर सर्वसाधरणको सबै रकम डुबेको डुब्यै भयो ।’ कार्कीका अनुसार ठूलालाई रिझाउन सके आफू कारबाहीमा परिदैन भनेर बस्नेतले प्रहरीका उपल्ला अधिकारी देखि पूर्व उपराष्ट्रपति परमानन्द झालगायतको पैसा फिर्ता गरेका थिए ।

आयोगले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गरेको प्रतिवेदनका अनुसार १ सय ६२ सहकारीमा मात्रै सर्वसाधरणको १० अर्ब ८७ लाख रुपैयाँ फँसेको छ । जसमा बस्नेतको ओरियन्टल ऋण तथा सहकारीबाट ६ हजार ८ सय ९४ जनाको ४ अर्ब २० करोड साँवा र ब्याज १ अर्ब २९ करोड रुपैयाँ फसेको थियो । त्यस्तै बस्नेतको हाउजिङमा सर्वसाधरणको एक अर्ब ३६ करोड रुपैयाँ फसेको निष्कर्ष प्रतिवेदनले निकालेको थियो ।

उक्त प्रतिवेदनका अनुसार, बस्नेतमाथि सर्वसाधरणको ६ अर्ब ८६ करोड रुपैयाँ तिर्नुपर्ने दायीत्व छ । अदालतले बारम्बार दोषी ठहराए पनि बस्नेत फरार थिए । प्रहरीका अनुसार पछिल्लो समय भारत बस्दै आएका बस्नेत घर आएर बसेको सुईको पाएर राति ११ बजे उनलाई धापासीस्थित घरबाट पक्राउ गरिएको हो । फैसला कार्यन्वयन ईकाइले कैद भुक्तान नगरी फरार रहेका बस्नेतलाई बाँकी कैद, जरीवाना भुक्तानका निम्ती डिल्लीबजार कारगार चलान गरेको छ ।

के छ कार्की संयोजक रहेको आयोगले बुझाएको रिपोर्टमा ?

सहकारी उजुरी स्थिति

  •     खाता उजुरी जम्मा दाबी खाता संख्या:  २२,१७०  खोलेका
  •     उजुरी दर्ता संख्या: १२,९६२ (उजुरी दिने व्यक्ति)
  •     उजुरी परेको संस्था:  १६२ दोहरिएका समेत, (समस्याग्रस्त १३०)
  •     उजुरी रकम:   ७,६०,७९,९५,२३८।३९   सात अर्ब साठी करोड उनासी लाख रुपैयाा,
  •     ब्याज दाबी:   २,४०,०७,८९,३५३।०८  दुई अर्ब चालिस करोड, सात लाख,
  •     जम्मा दाबी:    १०,००,८७,८४,५९१।४७ दश अर्ब सतासी लाख

ओरियन्टल ऋण तथा वचत सहकारी संस्था एउटै उपर (अध्यक्ष सुधीर बस्नेत भएको)  ६,८९४ उजुरी दर्ता भई ११,८४० खाताको उजुरी परेकोमा ब्याज बाहेक सावाामा ४ अर्ब २० करोड रुपैयाँ को दाबी परेको । ब्याज तर्फ १ अर्ब २९ करोडको दाबी भएको । दुवै गरी ५ अर्ब ५० करोडको दाबी भएको । हाउजिङमा १ अर्ब ३६ करोड समेत गरी निज उपर ६ अर्ब ८६ करोडको दायित्व भएको ।

राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण सहकारी उपर वचतमा १२६८ व्यक्तिको २०६८ खाताको उजुरी परेको । जसमा साावा ६६ करोड अठाइस लाख र ब्याजमा १३ करोड २६ लाख समेत गरी ७१ करोड ५६ लाखको दाबी आएको । हाउजिङमा १ करोड ९८ लाखको दाबी आएको । सहकारी र हाउजिङ गरी ७९ करोड ५४ लाखको दायित्वमा दाबी आएको ।

वचतकर्ताको आयोगमा १२,९६२ उजुरी दर्ता भएकोमा एउटा मात्र उजुरी परेका सहकारी ३५ वटा रहेका र २ वटा उजुरी परेका ३० वटा सहकारी संस्थाको हकमा नगण्य उजुर भएकाले उजुरकर्तालाई समस्याग्रस्त सहकारी संस्थाबाट १५ दिन भित्र रकम फिर्ता दिलाई दिन सहकारी विभागका रजिष्ट्रारलाई २७ फागुनमा आदेश दिइएको ।

हाउजिङ तर्फको उजुरी:

  •     ४८४ वटा उजुरी परेका
  •     उजुरी परेको संस्था १२,
  •     हाउजिङमा जम्मा १ अर्ब ४० करोड २६ लाख रकमको दाबी रहेको त्यसमध्ये गुणमा १ करोड ९९ लाख,
  •     १ अर्ब ३६ करोड ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतसँग सम्बन्धित हाउजिङ उपर दाबी परेको छ । अन्य उपर २ करोडको दाबी भएको ।

सहकारी र हाउजिङमा गरी साावा दाबी ९ अर्ब १ करोड, सहकारीको ब्याज समेत गरी रु. जम्मा ११ अर्ब ४१ करोड १४ लाखको दाबी  ।
सहकारीमा १२,९६२ र हाउजिङमा ४८४ गरी  जम्मा १३,४४६ व्यक्तिको २२,६५४ खाताको उजुरी आएको । उजुरीहरुको कम्प्युटरमा चढाउने काम गरिसकेपछि पनि अझै पनि फाट्टफुट्ट उजुरी आउने गरेको छ ।

सुधीर बस्नेत अध्यक्ष भएको ओरियन्टल सहकारी संस्थासँग सम्बन्धित: 
ओरियन्टल ब्युल्डर्स एण्ड डेभलपर्सको ओरियन्टल कोलोनी, कौशलटार होम्स, चक्रपथ हाइट्स, धुम्बाराही अपार्टमेन्ट फेज-२, भेगास सिटी इमाडोल ललितपुर । आयुषा डेभलपर्सको इस्टर्न अपार्टमेन्ट, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको भेगास सिटी, त्यसकै इम्पेरियल अपार्टमेन्ट नक्साल,  नमस्ते कोलोनी, सानेपा हाइट आदि नाममा बुक गराएको ।
आँगन वचत तथा ऋण सहकारी संस्थाले इष्टर्न अपार्टमेन्ट बुक गराएको ।

राजेन्द्र शाक्य अध्यक्ष भएको गुण कोअपरेटिभसँग सम्बन्धित:
गुण कोलोनी, आर सी अपार्टमेन्ट सैंबु, गुण कोलोनी, गुण विल्डर्स एण्ड डेभलपर्स, रिलायवल डेभलपर्स, एल पी अपार्टमेन्ट, जी.एन, अपार्टमेन्ट, गुण कोलोनी आदिको नाममा बुक गराएको । अन्य केही सहकारीले पनि आवासको नाममा रकम उठाएका ।

एकै व्यक्तिको १९ करोड रुपैयाँ फसेको उजुरी: 
तारा देवी ढकाल, झापा दमक, ओरियन्टलको हाउजिङमा १९ करोड रुपैयाँ (उन्नाइस करोड) जम्मा गरेको अपार्टमेन्ट नपाएको उजुरी ।
सहकारीमा २ करोड ७० लाखसम्म फसेको उजुरी प्राप्त भएकोछ ।

उजुरीको कम्प्युटरमा अभिलेख चढाउने काम आउट सोर्सिंगबाट गराइएको । सहकारी मन्त्रालयबाट निर्णय गर्न ढिलाई भएकाले २०७० चैतको सुरुमा मात्र अभिलेख तयार भएको ।

प्रतिक्रिया