काठमाडौं, १३ पुस ।
दुई देशबीच असीमित उडान गर्ने गरी भारतले अघि सारेको खुला आकास सम्झौताको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।
नेपाल र भारतका अधिकारीहरुबीच अघिल्लो साता भएको वार्तामा भारतले खुला आकास सम्झौताको प्रस्ताव गरेको थियो ।
नेपाली पक्षले भने यसका लागि नेपाल अहिले तयार भइ नसकेको बताएको छ । ‘भारतले खुला अकास नीति लिएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अबको दुई वर्षपछि पूर्वाधार बनिसक्ने र त्यसपछि छलफल गर्न सकिने नेपालले भारतलाई बताएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको विस्तारको काम चलिरहेको छ भने पोखरामा पनि विमानस्थल बन्दैछ । नेपाल र भारतबीच अहिले दुबै पक्षबीच ३० हजार सिटको सम्झौता छ ।
उक्त बैठकमा नेपालले माग गर्दै आएको तीन हवाई रुट खुला गर्नेबारे अध्ययन गर्न संयुक्त प्राविधिक समिति बनाउने सहमति भएको छ । नेपालले जनकपुर, भैरहवा र नेपालगञ्जबाट नयाँ एयर रुट माग गरेको छ ।