नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मुलुकमा अब भयंकर द्वन्द्व हुने दाबी गरेका छन् । यसको कारक भने संघीयता हुने उनको विश्लेषण छ । युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गौतमले भने, ‘हाम्रो देशमा संघीयता द्वन्द्वको समाधान होइन, द्वन्द्वको सृजना भइरहेको छ ।’
उनले अघि भने, यो संघीयताले हामीलाई एउटा भयंकर द्वन्द्वतिर धकेलिरहेको छ । त्यो द्वन्द्व भएपछि त्यसले जे निकर्ष निकाल्छ, नेपाल त्यो बाटोमा मात्र हिड्न सक्ने भन्ने अवस्था सृजना भएको छ ।’
द्वन्द्वलाई रोक्ने कोशिष हुने भएपनि त्यो सफल हुनेमा उनले शंका गरे । एमाले उपाध्यक्ष गौतमले भने, त्यो भयंकर द्वन्द्व हुन नदिन कोशिष त होला । तर, त्यो अनिवार्य जस्तो बन्दै गएको छ । त्यो अवस्था यही संघीयताको विषले सृजना गरेको छ ।
उनले प्रचण्ड सरकारमाथि विदेशीको इसारामा राष्ट्रघात गर्दै गएको आरोप लगाए । केपी ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी काम उल्टयाउन सरकार लागि परेको भन्दै उनले राष्ट्रहित विपरित जान नदिने बताएका छन् ।