प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिएका छन् । कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने उनको घोषणा छ ।सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा छ । यो पनि पत्नी सीता दाहालको नाममा रहेको प्रचण्डले उल्लेख गरेका छन् ।
प्रचण्डको यो सपत्ति विवरणलाई धेरैले पत्याएका छैनन् । तर, प्रचण्डले भने सम्पत्ति विवरणमा उल्लेख गरेको चितवन भरतपुरमा रहेको एक कठ्ठा जग्गा र ३ तोला सुन पनि व्यक्तिगत नभई पार्टीको भएको बताए ।
पार्टीको प्रशिक्षणका लागि पोखरा आइपुगेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मान्छेहरु पत्याउँदैनन्, तर मेरो निजी सम्पति छैन ।’
साम्यवादको सिद्धान्त अनुसार नै आफूले सबै सम्पति पार्टीकरण गरिसकेकाले भएको सम्पत्ति कि पार्टीको कि सरकारको भएको उनले बताए ।
उनले आफूसँग अकुत सम्पति छ भनेर भ्रम फैलाएको भन्दै आक्रोश पोखे । उनले आफ्नो निजी सम्पत्ति भएको प्रमाणित गरेर देखाउन चुनौति दिए । कसैले निजी सम्पति भएको प्रमाणित गरे सन्यासी बन्ने उनको घोषणा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावविरुद्ध एक तिहाई मत पुर्याएर देखाउन प्रमुख विपक्षी एमालेलाई चुनौती पनि दिए । संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले दोहोर्याए । प्रदेश नम्बर ४ स्तरीय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाले समर्थन जनाइसकेको दाबी गरे । उनले भने, ‘मलाई विश्वास छ एमालेले पनि सघाउँछ, सघाएन भने पनि संशोधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता हुँदैन ।’ तर, परिमार्जन भने हुनसक्ने उनले बताएका छन् ।
एमालेले आफूलाई संसदवादको मसिहा ठान्ने गरेको भन्दै उनले भने, ‘मधेसी मोर्चाले पनि विरोध गरिरहेको दाबी गर्ने एमालेले उनीहरुको मन जितेर एक तिहाई पुर्याए भइहाल्यो नि ! किन संसद अबरुद्ध गर्नुपर्यो ? किन सडक आन्दोलन गर्नुपर्यो ?’
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन, निर्वाचन र अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव प्याकेजमा सहमति हुनुपर्नेमा जोड दिए । त्यसो भएमा मात्रै निकास निस्कने भन्दै उनले त्यसका लागि प्रयास भइरहेको बताए ।
उनले प्रदेश नम्बर पाँचको सीमांकन हेरफेरलाई लिएर भइरहेको आन्दोलन प्रतिगमनकारी आन्दोलनमा परिणत हुने खतरा रहेको बताए । उनले भने, ‘एमाले अहिले नै प्रतिगमनतर्फ उन्मुख भयो त म भन्दिनँ, तर अहिलेको आन्दोलन बढ्दै गयो भने प्रतिगमनकारी आन्दोलनमा जानसक्छ ।’
प्रधानमन्त्री प्रचण्डले सीमांकनलाई देखाएर भइरहेको आन्दोलनलाई संघीयता विरोधी आन्दोलनमा लैजाने प्रयास भएपनि यो सम्भव नरहेको ठोकुवा गरे । ‘कसैको मनमा सीमांकनको विवाद झिकेर आन्दोलन चर्काउँदै संघीयता विरोधी आन्दोलनमा परिणत गर्ने सोच नहोला भन्न सकिन्न,’ उनले भने, ‘तर यो मुर्खतापूर्ण सोचमात्र हो, संघीयता कुनैपनि हालतमा उल्टिदैन ।’ संघीयता उल्टियो भने देश प्रतिगमनमा जाने र भयानक र डरलाग्दो रुपमा देश नै दुर्घटनामा पुग्ने उनको भनाइ छ ।