काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा भारतीय र फिनिस कम्पनीलाई !

काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा भारतीय र फिनिस कम्पनीलाई !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ भाद्र २०७३
  • 8.3K
    Shares

काठमाडौंको फोहोर मैला व्यवस्थापनका लागि काम अघि बढ्ने भएको छ । लगानी बोर्डले काठमाडौंका लागि छुट्टै तथा ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापनका लागि दुई कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) को प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

‘हामीले हेरिरहेका आयोजनाहरुमध्ये काठमाडौंको फोहोरमैला व्यवस्थापन आयोजना अहिलेसम्म सबैभन्दा आशलाग्दो स्थिति छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आइतबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै भने ।

सीइओ अधिकारीका अनुसार चाँडोभन्दा चाँडो फोहोरमैला व्यवस्थापनका लागि एक भारतीय र एक फिनल्याण्डको कम्पनीसँग पीडीए सम्झौता हुनेछ ।

‘केहीदिन भित्रै आयोजना विकासको सम्झौता हुनेछ,’ उनले भने । काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन अत्यावश्यक रहेकाले लगानी बोर्डले पनि यसलाई गंभीरतापूर्वक हेरिरहेको अधिकारीले बताए ।

लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनका लागि ३ वटा प्याकेज बनाएको छ । पहिलो प्याकेजमा काठमाडौंको मात्रै र दोस्रो प्याकेजमा ललितपुरको र तेस्रो भक्तपुरको फोहोर मैला व्यवस्थापनका लागि कम्पनी स्थापना गरे अघि बढ्ने ।

त्यसका लागि बोर्डले एउटै वा छुट्टाछुट्टै कम्पनीसँग परियोजना विकासको सम्झौता गर्नसक्ने सीइओ अधिकारीले बताए ।

काठमाडौको फोहोर व्यवस्थापनका लागि फिनल्याण्डको कम्पनी नेपवेज र ललितपुर तथा भक्तपुरका लागि भारतीय कम्पनी ग्रीन भ्याली नामक कम्पनीसँग पीडिएनएको तयारी भइरहेको उनले जानकारी दिए ।

ती कम्पनीहरुले उपत्यकाको फोहोर संकलन गरेर प्रशोधन र डिस्पोजल गर्नेछन् । फोहोरको प्रशोधन गरेर मल तथा अन्य वस्तुको उत्पादन पनि गर्न सकिने भएकाले यो आयोजना बहुउपयोगी हुने लगानी बोर्डको निष्कर्श छ ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेद (डीपीआर) बोर्डले पारित गरिसकेको अधिकारीले जानकारी दिए । फोहोर मैला व्यवस्थापनका लागि लगानी बोर्डले नियुक्त गरेको अन्तराष्ट्रिय कन्सलट्यान्ट सीओडब्लुआइले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

विक्रमसम्वत् २०६६ सालदेखि काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने भन्दै आवेदन दिएका थिए । ०६८ मा लगानी बोर्ड गठन भएपछि फोहोर मैला व्यवस्थापन सहित १५ वटा ठूला आयोजना लगानी बोर्डले नै हेर्दै आएको छ ।

प्रतिक्रिया