बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ । राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपी युवाहरुले शालिक भने राखिसकेका छन् ।
नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।
प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।राजतन्त्रको पक्षमा रहेका युवाहरुले वीरेन्द्रको शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।
प्रहरीलाई झुक्याए युवाले
दोस्रो जनआन्दोलनमा शो शालिक आन्दोलनकारीहरुले भत्काएका थिए । त्यसपछि शालिक भएको स्थानमा राष्ट्रिय झण्डामात्र राख्ने गरिन्थ्यो । झण्डालाई बेला-बेलामा फेर्ने गरिन्थ्यो । त्यहाँ प्रहरी पनि ड्युटीमा खटिन्थे ।
झण्डा पुरानो र झुत्रो भएको भन्दै विहीबार राष्ट्रवादी युवा समूहले झण्डा फेर्न प्रहरीसँग अनुमति माग्यो । प्रहरीले पनि अनुमति दियो । तर, राष्ट्रिय झण्डा बोकेर आएका युवाहरुले बोरामा राखेर पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक पनि ल्याएको प्रहरीले पत्ता पाएन ।
ति युवाहरुले चोकमा रहेको अग्लो पिलरको माथि झण्डासँगै शालिक पनि राख्न खोजे । त्यो देखेपछि ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा विवाद भयो । त्यहाँ थप प्रहरी फोर्स मगाइयो । वादविवाद झडपमा परिणत भयो । शान्त नेपालगञ्ज बजार हेर्दा हेर्दै तनावग्रस्त भयो ।
युवाहरुले सिमेन्टले जोडेर पूर्वराजा वीरेन्द्रको शालिक राखिसकेका छन् । उनीहरुले सो स्थानबाट शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि गर्ने बताएका छन् । अहिले सो स्थान वरपर ठूलो संख्या प्रहरी परिचालन गरिएको छ । प्रहरीले सुर्खेत रोडको यातायात समेत बन्द गराएर धम्बोजी छेत्रलाई नियन्त्रणमा लिएको छ ।