परिवार धान्न गिट्टी कुट्दै आमाछोरी

परिवार धान्न गिट्टी कुट्दै आमाछोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ फाल्गुन २०७४
  • 6.6K
    Shares

गंगा खड्का 

अर्खावाङ (गुल्मी) : देशभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा मंगलबार मालिका गाउँपालिका–४ काभ्रे गुल्मीका एकै घरका आमाछोरीलाई त्यसको अत्तोपत्तो थिएन। सधैं झैं उनीहरू बिहान खाना खाएर गिट्टी कुट्न निस्के। स्थानीय ३३ वर्षीय तनकला घर्तीमगर र उनकी नौ वर्षीय छोरी झरनाले गिट्टी नकुटी साँझ आगोमा चुल्हो बल्दैन्। तीन कक्षामा अध्ययनरत छोरीलाई आमा तनकलाले गिट्टी कुट्न सिकाएकी छन्। घरमा सन्तान धेरै भएपछि उनीहरूलाई घरखर्च जोहो गर्न समस्या हुने गरेकाले गर्जो टार्न उनीहरू दैनिक यसरी नै गिट्टी कुट्ने गरेका छन्।

मालिका गाउँपालिका कार्यालय अर्खावाङ नजिकै उनीहरूले गिट्टी कुट्ने गरेका छन्। ‘घरमा आठ जनाको परिवार छ’, तनकलाले भनिन्, ‘खर्च जुटाउनै मुस्किल हुन्छ। गिट्टी फोरेर जसोतसो ज्यान पालेका छौं।’ गिट्टी नफोर्दा चुल्होमा आगो बाल्नै गाह्रो हुने उनले दुखेसो पोखिन्। छोराछोरीको पढाइ, लेखाइ र घरखर्च चलाउन गिट्टी कुटेर केही राहत मिलेको उनी बताउँछिन्। सालझण्डी–ढोरपाटन सडक निर्माण हुन थालेदेखि उनले गिट्टी कुट्न थालेको जानकारी दिइन्।

असोज माघसम्ममा गिट्टी बेचेर ४५ हजार रुपैयाँ कमाएको घर्तीमगरले जानकारी गराइन्। ‘एक टिनलाई ५० रुपैयाँमा बिक्री गर्दै आएकी छु’, उनले भनिन्, ‘गिटी कुट्न गाह्रो छ तर बेच्न त्यति गाह्रो हुँदैन।’ बेलुका घरमा पुग्दा हात दुखेर समस्या हुने गरेको उनले बताइन्। चिसोले धेरै सताउने ठाउँमा काम गर्नु परेकाले अझ समस्या हुने गरेको उनको भनाइ छ। ‘गरिबलाई काम नगरी सुख हुँदैन’, दुःख सुनाउँदै उनले भनिन्, ‘धन्न बाटो बन्न लाग्या छ र काम पाइएको छ।’

साइँली छोरी झरनालाई बाध्यताले गर्दा काममा लगाउनुपरेको उनले बताइन्। ‘छोरीको अहिले स्कुल बिदा छ’, उनले भनिन्, ‘स्कुल खुलेपछि पढ्न पठाउँछु। बिदामा सँगै काममा आउछौँ।’ गाउँमा नयाँ घर बनाउनेले गिट्टी किन्ने गरेका छन्। श्रीमान् रत्नबहादुर घर्तीमगर घर बनाउने काममा व्यस्त हुन्छन्। श्रीमान्को एक्लो कमाइले नपुग्ने भएपछि आमाछोरीले बाध्य भएर गिट्टी फोर्ने काममा लागेको उनले बताइन्।

सालझण्डी ढोरपाटन सडक निर्माणका क्रममा फालेका ढुंगा कुटेर उनीहरूले गिट्टी निकाल्ने गर्छन्। साइँली छोरीले गिट्टी कुट्न सघाउँछिन् भने अन्य छोराछोरीले घरमा काम गर्ने गरेको तनकलाले बताइन्। ‘छोराछोरीलाई कापीकलम किन्न दुई÷चार पैसा खोज्न परेको छैन’, उनी भन्छिन्, ‘घरखर्च धान्नै प¥यो। गिट्टी कुटेर भए पनि छोराछोरीलाई पढाउन केही सजिलो भएको छ।’

काम गर्दा धेरै गाह्रो भए पनि एकमुष्ठ पैसा बुझ्दा तनकला दुःख बिर्सने गर्छिन्। दिनभर चाउचाउ, बिस्कुट र कहिलेकाहीँ घरबाट खाजा लिएर काममा लाग्ने गरेका आमाछोरीलाई चिसो मौसममा धेरै समस्या हुने गर्छ। आमाले जसोतसो गिट्टी फोरे पनि नाबालक छोरीलाई काम गर्न समस्या हुने गरेको छ। उनी रहरले भन्दा पनि बाध्यताले काममा लाग्नुपरेको आमाले बताइन्। आमाको साथी बन्न पनि उनी गिट्टी फोर्न जाने गर्छिन्।

स्तरोन्नति भइरहेको सालझण्डी ढोरपाटन सडकखण्डको विभिन्न स्थानमा यस क्षेत्रका स्थानीयले गिट्टी फोरेर जीविका चलाउने गरेका छन्। ठाउँठाउँमा निर्माणाधीन पक्कीपुललाई आवश्यक गिट्टीसमेत स्थानीयले निकाल्ने गरेका छन्। धेरैजसो सीमा क्षेत्रका नागरिकले गिट्टी निकाल्ने गरेका छन्। अर्खावाङ, सिर्सेनी, बाँझकटेरी, पुर्कोटदहलगायत गाउँका केही स्थानीयले सडकछेउमा बसेर गिट्टी फोरेर घरखर्चको जोहो गर्छन्।

घरको आर्थिक अवस्था कमजोर हुनेलाई यस कामले थोरै भए पनि राहत मिलेको छ। वृद्धवृद्धा, केटाकेटीले समेत गिट्टी निकालेर पढाइ र घरखर्च जोहो गर्ने गरेका छन्। बागलुङको ढोरपाटन क्षेत्रदेखि रूपन्देहीको सालझण्डीसम्म निर्माणाधीन सडक सो क्षेत्रका लागि आर्थिक समृद्धिको आधार बन्ने विश्वास गरिएको छ। विभिन्न भागमा ठेक्का आह्वान गरी सडक निर्माणले तीव्रता पाएको छ। अन्नपूर्णपोष्ट

प्रतिक्रिया