सिमाङन र संविधान कार्यावन्यनमा भारतीय चासो

सिमाङन र संविधान कार्यावन्यनमा भारतीय चासो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ भाद्र २०७३
  • 11.2K
    Shares

भारतले मधेसवादी दलहरूले उठाएको सीमांकनसम्बन्धी माग, संविधान कार्यान्वयन तथा चुनावबारे नयाँ सरकारले गरेको तयारीबारे चासो व्यक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत भ्रमणमा आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चासो राखेकी हुन् ।

स्वराजले नयाँ सरकारले मधेस आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गरेर राम्रो सुरुवात गरेको भन्दै संविधान संशोधन र चुनावबारे जिज्ञासा राखेकी थिइन् । ‘नयाँँ सरकारको गठनसँगै नेपालको राजनीतिक विकास सकारात्मक रूपमा अगाडि बढेको छ, तपाईंहरूले सबैलाई मिलाउने कुरामा हामी आशावादी छौं,’ भेटमा सहभागी एक प्रतिनिधिले स्वराजलाई उद्धृत गर्दै भने । कांग्रेस र माओवादीले मधेसवादी दलहरूसँग गरेको तीनबुँदे सम्झौताको पनि उनले प्रशंसा गरेकी थिइन् । उनले वर्तमान सरकार सबैलाई समेट्ने गरी अघि बढेकामा भारत खुसी भएको बताएकी थिइन् ।

सुरुमा दुई देशका अधिकारीसहित कुराकानी भएपछि १५ मिनेट निधि र स्वराजको एक्लाएक्लै बैठक भएको थियो । भेटमा निधिले मधेसवादी दलहरूको माग सम्बोधनमा सरकारले गृहकार्य थालेको बताउँदै संविधान संशोधनको तयारी भएको जानकारी गराएका थिए । निधिले स्वराजलाई संविधान संशोधनमार्फत मधेसीलगायत सबै क्षेत्रका जनताको माग सम्बोधन गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए । ‘संविधान संशोधन भएपछि सरकार चुनावको तयारीमा लाग्छ,’ उनले भनेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअघि नेपालको भ्रमण गर्दाको अवस्थामै नेपाल-भारत सम्बन्धलाई पुर्‍याउन उच्च स्तरीय भ्रमण हुनुपर्ने प्रधानमन्त्री दाहालको सन्देश पनि उनले स्वराजलाई सुनाए । १२ बुँदेदेखि सुरु भएको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र मधेसी/जनजातिका जायज माग सम्बोधन गर्ने दाहालको सन्देश पनि उनले भारतलाई दिए । त्यसमा भारतको सद्भाव र सहयोग आवश्यक पर्ने उनले स्वराजलाई बताएका थिए ।

भेटमा प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण र त्यसका एजेन्डाबारे समेत छलफल भएको थियो । भदौ ३० र ३१ गते प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्ने विषयमा छलफल भएको थियो । भेटमा सहभागी नेपाली दूतावासका काउन्सिलर हरि ओडारीका अनुसार दुवै पक्षले उच्च स्तरको भ्रमण आदानप्रदानमा जोड दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणबारे पनि निधि र स्वराजले छलफल गरेका थिए ।

भेटमा सहभागी एक अधिकारीका अनुसार हुलाकी राजमार्ग निर्माणमा भारतको सहयोग, पश्चिम रेलमार्ग निर्माण, पञ्चेश्वर परियोजनाको डीपीआर सकेसम्म चाँडो सम्पन्न गर्ने, चालु परियोजनाहरूलाई अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो । भूकम्पपीडितको घर निर्माणका लागि अघिल्लो सरकारले २ लाख दिने निर्णय गरेकामा नयाँ सरकारले ३ लाख दिन चाहेको भन्दै निधिले यसमा थप १ लाख भारतले सहयोग गर्ने गरी प्रस्ताव गरेका थिए । स्रोतका अनुसार भारतीय पक्षले यसलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्री दाहालको भारत भ्रमणको समयमा निर्णय लिने सहमति भएको छ ।

शुक्रबार नै निधिले भारतीय गृहमन्त्री राजनाथसिंहसँग पनि भेटघाट गरेका छन् । भेटमा सिंहले भारत सधंै नेपालमा राजनीतिक स्थिरताका पक्षमा रहेको भन्दै मधेस आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गरेर दाहाल सरकारले सकारात्मक सुरुवात गरेको बताए ।

यसअघि भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा केही नयाँ विकासका परियोजना अगाडि बढाउन भारतको सहयोगको अपेक्षा गरेको जनाएका थिए । ‘आफूले अगाडि बढाउन चाहेका विकासका परियोजनाहरूका बारेमा हामीलाई दाहालले जानकारी गराइसक्नुभएको छ । यस विषयमा भ्रमणको समयमा छलफल हुन्छ,’ ती अधिकारीले भने ।

नेपालमा भूकम्पपछि भारत सरकारले उपलब्ध गराएको अनुदान नेपालले खर्च गर्न नसकेको भन्ने विषयमा पनि भारतको चासो छ । शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निधिले भेटघाट गर्दै छन् ।

मुखर्जीलाई भारत भ्रमणको निम्तो

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधीले भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएका छन् । निम्तो ग्रहण गर्दै मुखर्जीले दुवै पक्षलाई उपयुक्त हुने मितीमा आफूले नेपालको भ्रमण गर्ने जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा बिहीबार भारत आएका निधीले शुक्रबार साँझ मुखर्जीसँग भेटवार्ता गरेका हुन् । भेटमा मुखर्जीले भारतले सधै नेपालको स्थिरता, विकास तथा शान्ति चाहेको बताएका थिए ।

http://bit.ly/2bCKZQk

प्रतिक्रिया