पोखरा, ४ फागुन २०७४ ।
नेपाल कम्युनिष्ट पार्टी समर्थित तमुवान जनसरकारले सरकारी निकायलाई कर नतिर्न आम जनतासमक्ष आव्हान गरेको छ । तमुवान स्वायत्त प्रदेश अन्तरगत गठित तमुवान स्वायत्त जनपरिषद्का प्रमुख किसानसिंह गुरुङले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै यस्तो आव्हान गरेका हुन् ।
सो विज्ञप्तिमा संघीयताको नाममा भएका विभिन्न चुनावहरुबाट आएका जनप्रतिनिधिहरुले आम जनतालाई सुख र सुविधा दिनुको सट्टा भ्रष्टाचार, कमिशनमा डुब्दै राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । साथै पूर्वाधार विनाका नगरपालिकाहरु घोषणा गरेर पुरानो घरटहराको अभिलेखीकरण गर्ने अवैज्ञानिक तरीकाले शत्प्रतिशतसम्म कर वृद्धि गरिएकोमा पनि विज्ञप्तिमा आपत्ति जनाइएको छ
सोही विज्ञप्तिमार्फत् जनतालाई सर्वशुलभ सेवा प्रवाह गर्न तथा अवैज्ञानिक र चर्को कर प्रणाली खारेज गर्ने अभियानमा साथ दिन राष्ट्रसेवक कर्मचारीहरुलाई समेत आह्वान गरिएको छ ।