पोखरा, ३ फागुन २०७४ ।
प्रदेश नं. ४ को प्रदेशसभा सभामुखमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निविरोध निर्वाचित भएका छन् । प्रदेशसभाको आजको बैठकमा सभामुख पदमा एक मात्र उम्मेदवारी परेका नेता अधिकारीलाई बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख निविरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता हरिबहादुर चुमानले अधिकारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव गरेका थिए भने नेकपा एमालेका नेता किरण गुरुङले उनको प्रस्तावलाई समर्थन गरेका थिए । आजकै बैठकमा बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य जनकलाल श्रेष्ठले ४ नं. प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त “नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको” पत्र पढेर सुनाएका थिए ।
४ नं. प्रदेशको प्रदेश सभाको आगामी बैठक फागुन ६ गते बस्नेछ । सो बैठकमा प्रदेश सभाको उपसभामुख पदको निर्वाचन हुने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
यसैबीच नवनिर्वाचित प्रदेश सभामुख नेत्रनाथ अधिकारीले आफूले संसदीय मूल्य र मान्यतामा रहेर स्वतन्त्रपूर्वक निष्पक्ष तरीकाले प्रदेश सभा सञ्चालन गर्ने बताएका छन् । प्रदेशसभा परिसरमा उपस्थित पत्रकारहरुसँग कुरा गर्दै सभामुख अधिकारीले यस्तो कुरा बताएका हुन् । उनले सभामुख निर्वाचित भए लगत्तै आफूले आफू समबन्धित पार्टीको सबै पदहरुबाट राजीनामा दिएको घोषणा गरेका छन् ।