कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा ख मा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापा बिजयी भएका छन् । उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ करणलाई पराजित गरेका हुन् ।
हुन त थापाको बिजयका बारेमा निर्वाचन कार्यालयले घोषणा गरेको छैन । तर थापाको प्रत्यासी रहेका गुरुङले आफ्नो फेसबुकमा एक स्टाटस लेखी आफ्नो पराजय स्वीकार गरेका छन् । उनले आफ्नो स्टाटसमा “ निर्बाचन को परिणाम बाट बिलकुल बिचलित नहोउ ,यो अभियान मा खट्ने सबै बाम गठबन्दन का नेता कार्यकर्ता मा हार्दिक आभार ब्यक्त गर्दछु अब हामी हाम्रो योजना अनुसार चल्नु पर्छ बिजयी सबै साथिहरु लाई बधाइ” लेखेका छन् । यसैबीच प्राप्त जानकारी अनुसार, बिजयी थापाले गुरुङलाई आठसय दुई मत अन्तरले पराजित गरेका छन् । थापाले १७ हजार सातसय २६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी गुरुङले नौहजार नौसय २४ मत पाएका छन् । त्यसो त निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न बाँकी नै रहेको छ ।
नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार थापाकाविरुद्ध उनकै पार्टीका महासमिति सदस्य नरेशशंकर पालिखेले वागी उम्मेदवारी दिएका थिए । त्यस उम्मेदवारीले थापाको पराजय हुनसक्ने अड्कल पोखराको राजनीतिकवृत्तमा गरिएको थियो । अन्तिम समयमा आएर राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विष्णुबहादुर खत्रीले थापाको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । तर पालिखेले आफ्नो उम्मेदवारीलाई निरन्तरता दिएका थिए ।
लामो समयदेखि पोखरा उद्योग वाणिज्य संघका विभिन्न पदहरुमा रही काम गरेका थापा एक कार्यकाल पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका छन् । करीब दुईवर्ष अघि नेपाली काँग्रेसमा आधिकारिक रुपमा प्रवेश गरेका थापा पोखरामा एक सफल जग्गा व्यापारी र अटो व्यवसायीका रुपपमा परिचित छन् ।