मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।
पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पाइलट लामा काठमाडाैं जोरपाटीका हुन्, भने को-पाइलट शाह दाङ तुलसीपुरका हुन् ।
पाइलटले कर्णालीमा हाम्फालेर ज्यान जोगाए
चालक लामाको बायाँ खु्ट्टामा र सह–चालक शाहको ढाडमा चोट लागेको छ । हाल दुबैको अवस्था सामान्य छ। घाइते दुबैजनालाई सिम्रिक एयरको हेलिकप्टरद्वारा जिल्ला अस्पताल हुम्ला लगिएको थियो । दुवैको हुम्लामा प्रारम्भिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
डिआइजी माधवप्रसाद नेपालका अनुसार सिमीकोटबाट उडेको १०/१५ मिनेटमै विमानमा खरावी आएको थियो । विमानलार्इ पुनः सिमीकोट फर्काउने काेसिस गरेपनि समय अपुग हुने भएपछि पाइलटले फोर्स ल्याण्डिङको बिकल्प रोजेका थिए ।
उडिरहेको जहाजको इन्जिनमा अचानक खराबी आएपछि कर्णाली नदी छेउमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। कर्णालीको किनारमा फोर्स ल्यान्ड गर्न खोजिएको जहाज नदीसँगै बजारिएको थियो।
जहाजबाट पाइलट र कोपाइलटलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो। नदीको छेउमै बजारिएको जहाजलाई कर्णली नदीले बगाइसकेको छ। उद्धार गरिएका पाइलट र कोपालइट दुवैलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरेर सिमिकोट ल्याइएको सिम्रिक एयरका क्याप्टेन विबेक खड्काले टेलिफोनमा बताए । क्याप्टेन बिबेकले भने, घाइते भए पनि दुवैजना खतरामुक्त हुनुहुन्छ।’
जहाज सिमिकोट विमानस्थलबाट ३:४० बजे उडेको थियो। उडेको केही समयमै इन्जिनमा खराबी आएको थियो। सिमिकोटमा समान ढुवानी गरेर जहाज सुर्खेत फर्किने क्रममा थियो।
उद्धारमा संलग्न सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले भने, ‘जहाजलाई कर्णाली नदीले बगाएर लगिसकेको छ। पाइलट र कोपाइलट हामीले उद्धार गरेर सिमिकोट ल्याइसकेका छौ। उहाँहरु सकुशल हुनुहुन्छ ।’
क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका डिआइजी माधव नेपालका अनुसार अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ।