काठमाडौं, ३ असार २०८३ ।
विराटनगर–१० स्थित शुभ होटलमा बसेका भारतका एक युवकको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। पोष्टमार्टम रिपोर्टबाट मात्रै घटनाको स्पष्ट निष्कर्ष नआएपछि प्रहरीले थप चिकित्सकीय परामर्श लिइरहेको जनाएको छ।
गत शनिबार राति अचानक बिरामी परेका भारतका युवकलाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि मृतकसँगै होटलमा बसेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
मोरङ प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी थप प्रमाण संकलन गरिरहेको जनाएको छ। प्रहरीले नेपाल–भारत सीमापार सुरक्षाको संवेदनशीलतालाई समेत ध्यानमा राख्दै घटनालाई गम्भीर रूपमा अनुसन्धान गरिरहेको बताएको छ।
मृतक भारतको बिहारस्थित पटना क्षेत्रमा विवादमा परेका व्यक्ति रहेको खुलेपछि प्रहरीले घटनालाई थप चासोका साथ हेरेको हो। गत जुन २ मा पटनाका दुई कोचिङ सेन्टरबीच भएको विवादपछि तोडफोड, आगजनी र गोली चल्ने घटनासमेत भएको थियो।
उक्त घटनापछि बिहार प्रहरीले पक्राउ पूर्जी जारी गरेका व्यक्तिमध्ये एक प्रिन्सकुमार यादव विराटनगर आएको र सोही क्रममा उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मृतकको पोष्टमार्टम रिपोर्ट मंगलबार प्राप्त भएको छ। तर, रिपोर्टले मात्रै मृत्युको कारण वा सम्भावित अपराधबारे स्पष्ट निष्कर्ष नदिएकाले भिसेरा रिपोर्टको प्रतीक्षा गरिएको उनले बताए।
घटनापछि मृतक यादवसँगै रहेका बिहार सहरसाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना नेपाली नागरिकलाई समेत सोधपुछ गरी छाडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक प्रिन्स यादव ज्ञान बिन्दु कोचिङका सञ्चालक थिए भने उनी रोशन आनन्दका भाइ हुन्। पटनामा रहेको ज्ञान बिन्दु कोचिङ र ग्लोबल स्टडिजबीच व्यवसायिक प्रतिस्पर्धाका कारण विवाद रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रहरी प्रवक्ता मिश्रले हालसम्म हत्या गर्नुपर्ने स्पष्ट कारण नभेटिएको बताए। घटनाको वास्तविक कारण पत्ता लगाउन थप प्रमाण संकलन, अनुसन्धान र चिकित्सकीय रिपोर्टको विश्लेषण भइरहेको प्रहरीले जनाएको छ।