काठमाडौँ, ३ बैशाख २०८३ ।
इरानको नियन्त्रणमा रहेका पानी जहाज चालक ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन् । झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनलाई इरानले बुधबार रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका–११ मा घर भएका झा दुबईबाट इरानतर्फ इन्धन लिन गएको र उताबाट फर्किने क्रममा उनलाई इरानी सेनाले बठदर अब्बाबसबाट पक्राउ गरेको थियाे ।
यसैबीच परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानको नियन्त्रणबाट मुक्त अमृत झालाई नेपाल ल्याउन पहल शुरु भएको जानकारी दिएको छ ।
झालाई रिहा गर्ने स्थानीय अदालतको आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रकृया पूरा गरी नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट पहल जारी राखिएको विज्ञप्तिमा जनाइएको छ ।