पोखरा, ७ चैत २०८२।
ठुलो मात्रामा लागू औषध र रकमसहित पोखराबाट एक जना कारोबारी युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको प्रहरी टोलीले गएको बुधबार साँझ साढे ५ बजे पोखरा महानगरपालिका वडा नम्बर २९ सैनिकबस्तिबाट ठुलो मात्रामा लागूऔषध र रकमसहित एक जना लागू औषध कारोबारी युवा पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्त पोखरा २९ सैनिक बस्ति बस्ने १९ वर्षीय आयुष तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
अभियुक्त तामाङको साथबाट लागू औषध एक हजार सातसय २१ एम्पुल डाइजापाम, तीनसय ३४ एम्पुल फेनेरागन र तीनसय ७७ एम्पुल ब्रुफिनोफिन समेत कुल दुइ हजार चारसय ३२ एम्पुल लागूऔषध र ९३ हजार पांच सय रुपियाँ नगद पनि बरामद भएको प्रहरीले जिकिर गरेको छ।
पक्राउ परेका लागू औषध कारोबारी अभियुक्त तामाङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।