पोखरामा युवतीलाई जबरजस्ती यौनजन्य गतिबिधि गराएको आरोपमा दुई जना पक्राउ, चार युवतीको उद्धार

पोखरामा युवतीलाई जबरजस्ती यौनजन्य गतिबिधि गराएको आरोपमा दुई जना पक्राउ, चार युवतीको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०८२
  • 3.3K
    Shares

पक्राउ , गिरफ्तार , arrest, nail, hatkadi

पोखरा ,४ चैत २०८२।

पोखराका विभिन्न खाजाघरमा महिलालाई प्रलोभनमा पारी यौनजन्य गतिविधिमा लगाएको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन् भने जबर्जस्ती यौनजन्य गतिविधि गर्न बाध्य पारिएका चार जना युवतीहरुलाई प्रहरीले उद्धार गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडस्थित एक खाजाघरमा जबर्जस्ती यौनजन्य गतिविधि गर्न बाध्य पारिएका चार जना युवतीहरुलाई प्रहरीले उद्धार गरेको हो भने उनीहरुलाई बिभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका १४, चाउथे बस्ने २४ वर्षीय राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई हाल पोखरा १, बगर बस्ने २८ वर्षीय खेमु थापा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो तलब र खानबस्ने सुविधासहित होटलमा काम लगाइदिने प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरुले महिलालाई सुरुमा होटलको काममा लगाउने र केही समयपछि होटलमा आउने पुरुषबाट रकम लिएर उनीहरुलाई जबरजस्ती रात बिताउन र अनैतिक कार्य गर्न लगाउने गरेका थिए ।

‘विभिन्न खाजाघरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी टोलीले अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो,’ उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका शाह र थापालाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया