पोखरामा मध्यरातमा चर्को आवाजमा मोटरसाइकल हुँईक्याउने छजना चालक र १० वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पोखरामा मध्यरातमा चर्को आवाजमा मोटरसाइकल हुँईक्याउने छजना चालक र १० वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा, १ चैत २०८२।

पोखराको बजारमा ध्वनि प्रदुषण फैलाउने गरी चर्को आवाज निकाल्ने कार्य गरेको आरोपमा १० वटा मोटरसाइकल र ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको “अपरेशन ३६५” अभियान अन्तर्गत १० वटा मोटरसाइकल र ६ जना चालकलाई नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने तथा समाजमा त्रास सिर्जना गर्ने गतिविधि बढेको भन्दै स्थानीय स्तरबाट पुन: गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले “अपरेशन ३६५” अभियान सन्चालन गरिरहेको छ।

सोही क्रममा फागुन २९ गते राति १ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–६ लेकसाइड क्षेत्रमा विशेष चेकजाँच गरेको थियो।

उक्त अभियानका क्रममा चर्को आवाज निकाल्दै हिँड्ने तथा शान्ति सुरक्षा खलल पार्ने १० वटा मोटरसाइकल र तिनका ६ जना चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा केही चालकले प्रहरीसँग झै–झगडा समेत गरेका थिए। नियन्त्रणमा लिइएका मोटरसाइकल र चालकहरूलाई कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले सवारीधनीहरूलाई सवारी साधन मोडिफाई नगरी पूर्ववत् असली स्वरूपमै चलाउन आग्रह गरेको छ। साथै, मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई पनि यस्तो कार्य नगर्न तथा नगराउन चेतावनी दिइएको छ।

सवारी साधनको स्वरूप परिवर्तन गरी चलाएको पाइएमा सवारीधनी र संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया