पोखरामा ग्यास लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार रुपियाँ जरिवाना

पोखरामा ग्यास लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार रुपियाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 4.1K
    Shares

पोखरा, १ चैत २०८२।

पोखरामा ग्यास लुकाउने एक डिलरलाई जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन सहितको अनुगमनका क्रममा बदमासी गरेको भेटिएपछि पोखरा ६ जरेबरस्थित भण्डारी ट्रेडर्सलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । 

एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने र सिलिण्डरबाट ग्यास सारिरहेको अवस्थामा उक्त डिलरलाई ५० हजार जरिवाना लगाइएको प्राप्त समाचारमा जनाइएको छ ।

अनुगमनका क्रममा भण्डारी ट्रेडर्सले १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखेको पाइएको थियो । उक्त डिलरले एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित रंगेहात फेला पारिएको लम्सालले बताए ।

प्रशासनले भण्डारी ट्रेडर्समा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवाको आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ । 

आगामी दिनमा ग्यासको परिमाणमा फेरबदल गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अनावश्यक सञ्चय गर्ने जस्ता उपभोक्ता हितविपरीत कुनै पनि गतिविधि नगर्न सचेत गराइएको लम्सालको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित उक्त संयुक्त टोलीले पोखराका विभिन्न ५ वटा ग्यास डिलरहरूमा छड्के अनुगमन गरेको थियो । जसमध्ये ३ वटा ग्यास डिलरहरुमा ग्यासको मौज्दात र अनुचित भण्डारण नपाइएको प्रशासनले जनाएको छ ।

त्यस्तै, अर्को एउटा डिलरमा ७.१ केजीका ३ सय २४ थान ग्यास सिलिन्डर गाडीबाट झार्दै गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । कास्की प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया