चुनाब निष्पक्ष र भयरहित बनाउन कुनै किसिमको अभाव हुन नदिने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

चुनाब निष्पक्ष र भयरहित बनाउन कुनै किसिमको अभाव हुन नदिने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० फाल्गुन २०८२
  • 4.8K
    Shares

पोखरा,२० फागुन २०८२।

राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ। 

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ।
 
बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।
 
राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो। 

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।

यसैबीच प्राप्त जानकारी अनुसार , सरकारले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिएका हुन् ।

आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको छ ।

विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्यांकन गर्दै ३ हजार ६८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ । जम्मा १० हजार ९६७ मतदान स्थलहरुलाई बाँडफाँड गरिएको छ ।

राउतका अनुसार तीन घेरामा सुरक्षा प्रबन्ध रहन्छ । जुन विगतदेखि नै हुने गरेको अभ्यास हो । त्यसमा सबभन्दा ‘आउटर’ (बाहिरी) घेरामा नेपाली सेना त्यसपछि सशस्त्र प्रहरी बल र ‘कोर’ (भित्री) घेरामा भित्र नेपाल प्रहरीको रहने व्यवस्था छ ।

सचिव राउतले मतदान स्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रवन्ध मिलाउनका लागि मात्र गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया