पोखरा, २ फागुन २०८२।
नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, गगनगौडा डिपोका तत्कालीन प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले बिहीबार उनीहरूलाई जनही ५ महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो ।
अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार दाससँगै पेट्रोलियम व्यवसायी बाबुराम जमरकट्टेल र ट्यांकर चालक निर्मल थापा पनि दोषी ठहर भएका छन् ।
अदालतले बिगोको आधा रकम २ लाख २४ हजार २ सय ६२ रुपैयाँ ९१ पैसालाई दामासाहीले भाग लगाउँदा हुने जनही ५६ हजार ६५ रुपैयाँ ७२ पैसा जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत आदेश दिइएको छ ।
उनीहरूमाथि अवैध रूपमा डिजेलको कारोबार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २५ गते मुद्दा दर्ता गरेको थियो । आयल निगमको गगनगौंडास्थित डिपो प्रमुखको मिलेमतोमा बिलमा उल्लेख भएभन्दा बढी डिजेल सप्लाई गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा २०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्सको ग२ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेलको अर्डर स्वीकृत भएको पाइएको थियो । व्यवसायीले निगमको खातामा आइपिएस मार्फत् रकम जम्मा गरी भौचर तयार पारे पनि लोड गर्ने समयमा बदमासी गरिएको अख्तियारको दाबी छ । डिप र सिल गर्ने जिम्मेवारीमा रहेका प्रतिनिधिसँगको मिलेमतोमा सिसिटिभी क्यामरा बन्द गरी १५ हजार ३८ लिटर डिजेल लोड गरिएको भेटिएको थियो । उक्त ट्यांकरलाई पोखरा–२७ को डाँडाको नाकमा नियन्त्रणमा लिएर जाँच गर्दा बिलभन्दा ३ हजार ३८ लिटर बढी डिजेल फेला परेको थियो ।
अख्तियारले प्रतिलिटर १ सय ४७ रुपैयाँका दरले ४ लाख ४८ हजार ५ सय २५ रुपैयाँ हिनामिना र दुरुपयोग भएको भन्दै विशेषमा आरोपपत्र दायर गरेको थियो । सोही मुद्दामा जोडिएका गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटको हकमा भने अदालतले सफाइ दिएको छ । उनीहरूले बदनियत राखेको वा मिलेमतो गरेको वस्तुनिष्ठ प्रमाण नपुगेकाले सफाइ दिइएको अदालतले जनाएको छ ।