२५औँ आहा रारा गोल्डकप : सहारा क्लब पोखराको विजयी शुरुवात

२५औँ आहा रारा गोल्डकप : सहारा क्लब पोखराको विजयी शुरुवात


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ माघ २०८२
  • 6.8K
    Shares

काठमाडौँ, २८ माघ २०८२।
२५औँ आहा रारा गोल्डकपको शुरुवाती खेल आयोजक सहारा क्लब पोखराले जितेको छ।

पोखरा रंगशालाको फुटबल मैदानमा मंगलबार साँझ भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

खेलको इन्जुरी समयमा सहाराका प्रशन्न श्रेष्ठले गोल गर्दै पोखरेली दर्शकलाई प्रशन्न बनाए । ९० मिनेटको खेलमा थपिएको ४ मिनेटको इन्जुरी समयको तेश्रो मिनेटमा श्रेष्ठले करिब २० यार्ड टाडाबाट प्रहार गरेको वलले जाली चुमेको थियो। गोर्खा इन्टरनेशनल फुटबल क्लवले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु पर्यो । सहाराका केही खेलाडीहरुको अवसर खेर जादा गोल अन्तर फराकिलो पार्न सकेन ।

भोलि (बुधबार) जाउलाखेल युथ क्लव बिरुद्ध मछिन्द्र फुटवल क्लव बिच खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए। प्रतियोगिताको उद्घाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गरेका थिए । हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा उक्त प्रतियोगिता अस्थायी फ्लटलाइटमा संचालन भएको छ ।

फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिताल रहेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद १४ लाख एक हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्।

प्रितिलाई सम्मान 
सहारा क्लबले प्रदान गर्दै आएको सहारा वर्ष उत्कृष्ट खेलाडीबाट यो वर्ष प्रीति राई सम्मानित भएकी छन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले ५१ हजार नगदसहित सम्मानित गरे।

यसअघि फुटबलर आयुष घलान, भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भइसकेका छन्। यस्तै सहाराले उद्घाटनकै अवसरमा क्लबलाई सघाउने विभिन्न २५ जना व्यक्तिलाई पनि सम्मान प्रदान गरेको छ।

प्रतिक्रिया