पोखरा, १२ माघ २०८२।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्कालीन अवस्था घोषणा गरेका छन्।
शनिबारदेखि जारी भारी हिमपातका कारण जनजीवन तहसनहस भए पछि राष्ट्रपति ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्कालीन अवस्था घोषणा गरेका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण न्युयोर्कसहित अमेरिकाभर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ। आँधीसहितको हिमपातले अमेरिकामा झन्डै १० लाख घर बिजुलीविहीन भएका छन्। १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् र १४ हजारभन्दा बढी उडान ढिलाइ भएका छन्।
अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार, आँधी लगभग तीन हजार दुईसय २० किलोमिटर क्षेत्रमा फैलिएको छ। जसका कारण झन्डै २१ करोड मानिस समस्यामा परेका छन्।