पोखरा , ९ माघ २०८२।
एमालेका सचिव एबम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई “नेपाल बनाउने र जलाउने शक्तिबीचको लडाइँ” को रुपमा औंल्याएका छन्।
नेकपा एमाले नवलपुरको आठौँ पूर्ण बैठकलाई कावासोतीमा सम्बोधन गर्दै नेता अधिकारीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई त्यस्तो रुपमा औंल्याएका हुन्।
निर्वाचनलाई देशको भविष्यसँग जोडिएको निर्णायक लडाइँको रूपमा चित्रण गर्दै उनले निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रको स्थिरता, विकास र समृद्धिको दिशातर्फ जनताको स्पष्ट निर्णय आउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।
नेता अधिकारीले देशलाई अघि बढाउने शक्तिलाई विजयी गराउन जनताले सचेत भएर आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्नुपर्ने जिकिर गरे।
सचिव अधिकारीले ‘जेनजी आन्दोलन’को नाममा केही देशी–विदेशी शक्तिहरूले देशलाई अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने प्रयास गरिरहेको आरोपसमेत लगाउनुभयो। उहाँले एमालेले मात्र राष्ट्रिय हित, सुशासन र विकासको स्पष्ट एजेन्डा बोकेको दाबी गर्दै भन्नुभयो, “यो निर्वाचनले नेपाल कुन दिशामा जाने भन्ने तय गर्छ—स्थिरता र समृद्धिको बाटो रोज्ने कि अराजकता र अस्थिरताको?”
उहाँले आगामी निर्वाचनमा एमाले बलियो रूपमा प्रस्तुत हुने र जनताको व्यापक समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले पार्टीका कार्यकर्तालाई निर्वाचनमा सक्रिय रूपमा लाग्न आह्वान गर्दै जनताको मतमार्फत सही शक्तिलाई विजयी गराउन अपिल गरे ।