पोखरा , २९ पुष २०८२।
हिमाल पारीको जिल्ला मुस्ताङबाट दुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जना पक्राउ परेका छन्।
मुस्ताङको लोमन्थाङ गाउँपालिका–४, नेचुङबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट (भेप) बोकेको गाडीसहित एक जना पक्राउ परेका हुन्।
ना६ख ७५९१ नम्बरको कन्टेनरमा केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामालाई सोमबार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएएसपी शैलेन्द्र थापाले जानकारी दिए । लामा कन्टेनरका चालक हुन्।
बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
लामालाई आवश्यक कारबाहीका निम्ति इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ । कन्टेनर बिग्रिएको र त्यसमा रहेको टिस्यु र ट्वाइलेट पेपर सोही ठाउँमा भन्सार कार्यालयले सिल गरेर राखेको सशस्त्र प्रहरीले जनाएको छ ।