पोखरा , २९ पुष २०८२।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । गत शनिबार मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत भएको हो। बाँकी एक जनाको अझै पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
उक्त घटनामा मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागर बस्ने ५८ वर्षीया देउमाया थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । विकको शनिबार र थापाको आज सनाखत भएको उनले बताए । दुवैको शव परीक्षणपश्चात् आफन्तले बुझेका छन् ।
तीन जनाको नै हत्या भएको प्रहरीको आशङ्का छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ विकले जानकारी दिए ।