काठमाडौँ, २५ पुष २०८२।
काठमाडौँको चुच्चेपाटीमा कारले ओभरटेक गर्न खोज्दा बस र चार वटा दुईपांग्रे सवारी आपसमा ठोक्किदा छ जना घाइते भएका छन्।
बौद्धबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३२ च ६३६३ नम्बरको ईभी कारले सोही दिशातर्फ जाँदै गरेको बसलाई ओभरेटक गर्न खोज्दा तीन वटा मोटरसाइकल र एउटा स्कुटरसँग ठोक्किएको हो । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।
बा३ख ६३५९ नम्बरको बसलाई ओभरटेक गर्न खोज्दा भएको दुर्घटनामा परेर दुईपांग्रेका चालक र सवार यात्रु घाइते भएका छन् । घाइने हुनेमा बा७३प ६५९२ नम्बरको मोटरसाइकल चालक काभ्रे घर भएका ३० वर्षीय बसन्त तामाङ, बा९२प ४७९६ नम्बरको मोटरसाइकल चालक सुन्दरीजल बस्ने २६ वर्षीय दिनेश लामा, सो मोटरसाइकलमा सवार ५८ वर्षीय कुमार तामाङ र पैदलयात्रु सुनसरी घर भएका २६ वर्षीय रेवत ढकाल घाइते भएका छन् ।
प्रदेश–१–०२–०५४ प १०२१ नम्बरको मोटरसाइकल चालक पाँचथर घर भएका २३ वर्षीय सूर्य लिम्बू र बागमती प्रदेश–०२–०४४ प १८६२ नम्बरको स्कुटर चालक ५५ वर्षीय डण्डु शेर्पा पनि घाइते भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
दुर्घटना गराउने कार चालक रौतहट घर भएका अनुज खड्कालाई प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।