पोखरा, २३ पुष २०८२।
तनहुँमा मेशिनले च्यापिँदा कालिका कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ।
जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित ड्याम साइड क्षेत्रमा कम्पनीको एक्स ०६६ नम्बरको एक्साभेटर र बा.प्र.०६–००१ क ०२५१ नम्बरको टिपर मंगलबार साँझ अचानक ब्याक हुँदा च्यापिएर उक्त कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मजदुर व्यास नगरपालिका–५ निवासी २५ वर्षीय महेन्द्र थापाको रत्नहरी अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
घटनापछि टिपर चालक चितवनको राप्ती नगरपालिका–२ निवासी वर्ष ३३ का जीवनकुमार गोले र एक्साभेटर चालक जिल्ला बर्दिया बारबर्दिया नगरपालिका–८ निवासी वर्ष २२ का विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सांकेतिक चित्र