गोरखा, २२ पुष २०८२।
गोरखामा बिषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।
परालको टौवामा उम्रिएको च्याउको तरकारी खाँदा गोरखा नगरपालिका–१४, स्थित प्युघरमा बस्दै आएका एउटै परिवारका चार जना बिरामी परेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) भरतबहादुर बिकले जानकारी दिए ।
बिरामी पर्नेहरुमा मकवानपुर जिल्ला बागमती नगरपालिका–१३, घर भई हाल गोरखा नगरपालिका–१४, स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हिरा पहरी, १२ वर्षीय छोरा किसान पहरी, ६ वर्षीय छोरा हिमाल पहरी र ५ वर्षीया छोरी सुजिता पहरी बिरामी परेकाे एसपी बिकले बताए । उनीहरुले सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा) मा उम्रेको जंगली च्याउ टिपेर तरकारी खाएपछि बिरामी परेका प्राप्त समाचारमा जनाइएको छ।
च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्याधिक थकान जस्ता लक्षण देखिएपछि तत्काल सवैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको थियाे । उनीहरुकाे अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको गाेरखा प्रहरीले जानकारी दिएकाे छ । बिरामी सवै बोल्न सक्ने अवस्थामा रहेकाे र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।