पोखरा, २० पुष २०८२।
युएनडिपीको कर्मचारी भन्दै ठगी गर्ने युवक लमजुङबाट पक्राउ
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।
शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग दिलाउने प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाबाट रकम असुल्ने चितवनको खैरहनी नगरपालिका-१३ घर भएका २५ वर्षीय सुजन सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसरी गर्थे ठगी
प्रहरीका अनुसार सिलवालले विगत केही दिनदेखि आफूलाई युएनडिपीको कर्मचारी भनी परिचय दिँदै आएका थिए। उनी लमजुङका विभिन्न वडा कार्यालय, कृषि फार्म तथा विद्यालयहरूमा पुगेर भौतिक पूर्वाधार विकास तथा अनुदान सहयोग उपलब्ध गराउने प्रलोभन देखाउने गर्दथे।
सोही बहानामा उनले निवेदन शुल्क, प्रतिलिपि सेवा शुल्क तथा दस्तुर भन्दै रकम असुली ठगी गर्दै हिँडेको गोप्य सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुस १८ गते साँझ लमजुङको दोर्दी-४ बाट सिलवाललाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार,सिलवालले युएनडिपीमा जागिर लगाइदिने भन्दै एकजना सहयोगी राखेको र सोही भ्रममा पारी भाडाको सवारी साधन र चालकसमेत लिएर हिँड्ने गरेका थिए।
प्रहरीले यस प्रकरणमा वा यस्तै प्रकृतिको ठगीमा परेका अन्य व्यक्ति वा संस्थाहरू भए आवश्यक प्रमाणसहित तत्काल प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।