पोखरा,११ कार्तिक २०८१।
साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेपछि भारतले अग्रता लिएको हो ।
भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरूले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।
रेफ्रीले शुरुमा गोल भएको संकेत गरे पनि गोल दिएनन् । भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो ।
खेलको मुख्य रेफ्री भुटानकी ओम चोकी हुन् भने असिस्ट्यान्ट रेफ्री भुटानकी छोडेन छिरिङ र बंगलादेशकी मोने सल्मा अख्तर छन् ।
नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ । त्यसैले रेफ्रीहरु अलमलमा छन् ।
यसअघि नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए पछि खेलको ५० औँ मिनेटमा नेपाल १० खेलाडीमा सिमित भएको थियो । दुई पहेँलो कार्ड पाएपछि उक्त खेलाडीलाई रेड कार्ड दिइन्छ।
